बज्रगुरु मन्त्रोच्चारणका फाइदाहरू ।।  ओ म नि पद मे हँ को अर्थ ।। विपश्यना ध्यान के हो ? ।। भद्रचरी प्रणिधान
बज्रयानबारे प्रवचन तथा प्रश्नोत्तर ।। दोमाङमा के छ ? ।। बुद्धधर्मद्वारा आफनो पहिचान ।।
अन्वेषणको पथ धर्म ।। बौद्ध मनोविज्ञान एक झलक ।। तपाईको मन नै तपाईको धर्म हो ।।
मानसिक रोगबारे बौद्ध धारणा ।। सवै कुराहरु मनबाट नै उत्पन्न  ।।  आफनो मनलाई सागर झै बनाउनुहोस् ।।
बौद्ध ग्रन्थहरू नेपाली भाषामा ।। बोधिसत्वका सैतिस चर्याहरू

तामाङलाई रगतको आवश्यकता परे
बुद्ध धर्मवारे जानकारी बढाऔ
तामाङ भाषा सिकौं
तामाङ भाषाका कथा कविता लेखहरू
तामाङ भाषाका रेडियो कार्यक्रमहरू
तामाङ भाषाका प्रकाशनहरू
तामाङ भाषाका गीतहरू
तामाङ भाषाका चलचित्रहरू
तामाङ भाषाका खबरपत्रिकाहरू
तामाङहरूसँग सम्बन्धित समाचारहरू
तामाङ जनसंख्या कहाँ कति ?
बनेल बर्ष (फाग् ल्हो) र तपाईँ
तामाङ व्यक्तित्वहरूबारे चिनारी
तामाङ व्यक्तित्वहरूसँग अन्तरवार्ता
तामाङहरूसँग ईमेल मित्रता
तामाङ चाडपर्वहरू
तामाङ संगठनहरू
तामाङका थरहरू
तामाङहरू को कहाँ ?
वैवाहिक सम्बन्धको लागि
जन्म मिति र लो,खाम
ल्होसार कसरी मनाउने
 



 

 

लामा येसे

आफनो मनोचीकीत्सक आफै बन्नुहोस्

अनुवादक मुकेश लामा

बुर्द्धधर्मद्वारा आफ्नो पहिचान

हामीले बुर्द्धधर्म बारे अध्ययन गर्दाखेरी, हामीले आफ्नै बारेमा अध्ययन गरिरहेका हुन्छौं । हाम्रो आफ्नै मनको प्रकृति बारे अध्ययन गरिरहेका हुन्छौ । कुनै सर्वोच्च प्राणीमा केन्द्रित नभएर हामीले हाम्रो जीवन कसरी व्यतीत गर्ने, हाम्रो मनलाई कसरी एकीकृत पार्ने र हाम्रो दैनिक जीवन कसरी स्वस्थ्य र शान्त तरिकाले व्यतीत गर्ने भन्ने जस्ता बढी ब्यावहारिक कुराहरूप्रति बुर्द्धधर्मले जोड दिन्छ ।  अर्को शब्दमा भन्नुपर्दा, बौर्द्धधर्मले जहिले पनि अब्यवहारिक होइन, अनुभव र बोधज्ञानमा आधारित तथ्यलाई महत्त्व दिन्छ । वास्तवमा, हामीले बौर्द्धधर्मलाई परम्परागत रूपले सोचिए जस्तै खालको धर्म हो भन्ने सोच्दैनौँ । लामाको दृष्ट्रिकोणमा बौद्ध उपदेशहरू बढी मात्रामा दर्शन, विज्ञान वा मनोविज्ञानको क्षेत्रमा पर्दछन् ।

पूर्वीय होस् या पाश्चात्य, मानव मनले नैर्सर्गिक रूपले सुख खोज्दछ । यसबारे सबैले एउटै कुरा गरिरहेका हुन्छन् । तर चेतनाको संसारमा तपाईंको सुखको खोजी भावनाहरूको चंगुलमा पर्न अग्रसर हुन्छ भने त्यो खतरनाक पनि हुन सक्तछ । त्यसमा तपाईंको नियन्त्रण रहने छैन ।

अब यो नसोच्नुहोस् कि नियन्त्रण पर्ूर्वीय संस्कृतिको बौद्ध उपज हो । हामी सबैलाई -विशेष गरेर भौतिक जीवनमा कैद भएकाहरूलाई, नियन्त्रण आवश्यक हुन्छ । मनोवैज्ञानिक तथा भावनात्मक रूपले हामी अनुरागको बस्तुसँग लिप्सिएका हुन्छौँ । बौद्ध दृष्टिकोण अनुसार त्यो एउटा अस्वस्थ्य मन हो । तपाईं मानसिक रूपले रोगी हुनुहुन्छ ।

      वास्तवमा तपाईंको अनुरागप्रतिको लालसा वा अन्य भावनात्मक समस्याहरूलाई वाह्य वैज्ञानिक तकनिकिको विकास एक्लैले सन्तुष्ट पार्न सक्तैन भन्ने कुरा तपाईंलाई थाहा नै छ । तर भगवान् बुद्धको उपदेशले तपाईंलाई मानव संभाव्यताको प्रबृत्तिको विशेषता, मानव मस्तिष्कको क्षमतालाई देखाउँछ । जब तपाईं बुर्द्धधर्मबारे अध्ययन गर्नुहुन्छ, तपाईं स्वयं के हो र अग्रगामी विकास कसरी गर्न सकिन्छ भन्ने कुरा सिक्नुहुन्छ । कुनै प्रकारको अलौकिक विश्वासमा जोड नदिएर बौद्ध विधिहरूद्वारा तपाईंले आफू स्वयं र अन्य घटनाहरूप्रति गहिरो सुझबुझ विकास गर्न सक्नु हुन्छ ।

जे होस, तपाईं धार्मिक वा भौतिक, विश्वास गर्ने वा नगर्ने जे भए पनि तपाईंले आफ्नो मस्तिष्कले कसरी कार्य गर्दछ भन्ने कुरा थाहा पाउनु अति महत्त्वपूर्ण छ । यदि तपाईंले त्यस्तो गर्नुभएन भने तपाईं आफूलाई स्वस्थ्य ठानेर यता उता घुम्नुहुन्छ तर वास्तविकता यस्तो हुन्छ कि पिडादायी भावनाहरूको मुल जरा मनोविज्ञान को खलबलको वास्तविक कारण तपाईँभित्र नै बृद्धि भैरहेको हुन्छ । त्यसकारणले नै कुनै वस्तुमा सूक्ष्म परिवर्तन, कुनै सूक्ष्म कुरामा पनि सानो गडवढी भयो भने केही सेकेण्डभित्र नै तपाईं पूर्णतया क्रोधित हुनु हुनेछ । त्यसले मलाई ऊ मानसिक रोगी हो भन्ने देखाउँदछ । किनकिनकि तपाईं अनुरक्त भएर अन्धो बनाइएको चेतनाको संसारमा एकोहोरो हुनुभएको छ । सम्पूर्ण समस्याहरूको आधारभूत कारण तपाईंको आफ्नै मनको वास्तविक प्रकृतिको अज्ञानताको नियन्त्रणमा परेर तपाईंले 'यस्तो कुरामा म विश्वास गर्दिनँ' भनेर मैले भनेको कुराको खण्डन गर्ने कोसिस गरे पनि त्यसबाट केही हुदैन । यो विश्वास गर्ने वा नगर्ने प्रश्न होइन "मेरो नाक छ भनेर म विश्वास गर्दिनँ ।" भनेर तपाईंले जतिसुकै भने पनि दुइवटा आँखाहरू बीच तपाईंको नाक छ । तपाईंले विश्वास गरे पनि नगरे पनि तपाईंको नाक जहिले पनि हुन्छ ।

"म विश्वास गर्ने मानिस होइनँ ।" भन्ने मैले अनेकौं मानिसहरू भेटेको छु । उनीहरू आफ्नो कुनै कुरामा विश्वास नभएको बारे अति घमण्डी हुन्छन् । तपाईं जाँच गरेर हेर्नुहोस्, त्यो कुरा थाहा पाउन अति महत्त्वपूर्ण छ । आजको विश्वमा अनेकौं विरोधाभासहरू व्याप्त छन् । भौतिकवादी वैज्ञानिकहरू "म विश्वास गर्दिनँ ।" भनेर घमण्ड गर्दछन् । धार्मिक मानिसहरू भन्दछन् "म विश्वास गर्छु" जे सोचे पनि तपाईंले आफ्नो मनको प्रकृतिको विशेषता के हो भनेर थाहा पाउनु पर्दछ । यदि तपाईंले त्यसबारे थाहा पाउनु भएको छैन भने अनुरागको कमिकमजोरीहरूबारे तपाईंले जत्ति कुरा गरे पनि अनुराग भनेको वास्तवमा के हो भन्नेबारे तपाईंलाई थाहा छैन वा त्यसलाई कसरी नियन्त्रण गर्ने भन्नेबारे तपाईंलाई थाहा छैन । शब्दहरू सजिला हुन्छन् । वास्तवमा गाह्रो कुरा के छ भने अनुरागको वास्तविक प्रकृतिलाई बुझ्न गाह्रो छ । 

उदाहरणका लागि, जब मानिसहरूले कार र हवाइजहाज बनाए, उनीहरूको भित्री उद्देश्य आरामका लागि बढी समय उपलब्ध होस् भन्ने उद्देश्यले कामहरू अझ बढी छिटो गर्न सक्षम होस् भन्ने थियो । तर त्यसको साटो के भएको छ भने मानिसहरू पहिलेभन्दा झन बढी आरामविहीन भएका छन् । तपाईंको दैनिक जीवनलाई नै हेर्नुहोस् । अनुरागको कारण आफ्नो मनको वास्तविकतालाई हेर्ने समय र स्थानलाई अस्वीकार गरेर तपाईं स्वयंद्वारा निर्मित ठोस चेतनाको संसारमा भावनात्मक रूपले संलग्न हुनुहुन्छ ।  मेरा लागि कठिन जीवनको परिभाषा त्यही नै हो । तपाईंले सन्तुष्टि र आनन्द प्राप्त गर्नुहुन्न । सत्य कुरा के हो भने खुसी र आनन्द बाहिरी घट्नाहरूद्वारा होइन मनभित्रबाट नै उत्पन्न हुन्छ ।

तथापि केही बौद्धिक, संशयात्मक मानिसहरूले केही हदसम्म भौतिक वस्तुहरूले र्सार्थक र आरामदायी जीन्दगी दिन सक्तैन भन्ने कुरा बुझेका छन् र वास्तविक सन्तुष्टि दिने अन्य कुनै त्यस्तो चीज वास्तवमै छ कि भनेर खोज्ने प्रयास गर्दैछन् ।

भगवान् बुद्धले जब दुःखबारे चर्चा गर्नुभयो, उहाँले रोग र कष्टजस्ता सतही दुःखलाई मात्र जनाउनुभएको थिएन तर मनको असन्तुष्ट हुने प्रकृति नै दुःखको कारण हो भन्ने पनि जनाउनुभएको थियो । तपाईंले कुनै वस्तु जत्ति पाए पनि त्यसबाट तपाईंको त्यो वस्तु अझ असल र अझ राम्रो गरेर पाउने लालसा कहिल्यै सन्तुष्ट हुँदैन । त्यो निरन्तरको लालसा नै दुःख हो यसको प्रकृति भावनात्मकरूपले हतास हुनु हो ।

बौद्ध मनोविज्ञानले मानव मनलाई हतास बनाउने र यसको शान्तिलाई खल्बल्याएर त्यसलाई चंचल बनाउने ६ वटा आधारभूत भावनाहरूबारे वर्णन गरेको छ । ती अज्ञानता, अनुराग, क्रोध, घमण्ड, छलयुक्त भ्रम र मिथ्या दृष्टिहरू हुन् । यी सबै बाहिरी घटनाहरू हुन्, मनोवृत्ति होइनन् । बुर्द्धधर्मले सम्पूर्ण दुःखहरूको मूल यी भ्रमहरूलाई पराजित गर्न जोड दिन्छ । तपाईंले तिनीहरूको प्रकृतिलाई बुझ्नु पर्दछ । विश्वास र आस्थाबाट त्यति ठूलो सहायता पाइँदैन ।

यदि तपाईंले आफ्नो मनलाई अन्तरावलोकनको बोध र ज्ञानद्वारा त्यहाँ के छ भनेर जाँचबुझ गर्नुहुन्न भने तपाईंले त्यसलाई कहिल्यै पनि देख्नुहुने छैन । जाँच नगरीकन तपाईंले आफ्नो मन र भावनाहरूबारे जत्तिसुकै चर्चा गरे पनि तपाईंले तपाईंको आधारभूत भावना अहम्ता हो र तपाईंलाई वेचैन बनाउने त्यही हो भन्ने कुरा वास्तविक रूपले बुझ्नुहुन्न ।

अब, तपाईंले अहम्तालाई पराजित गर्नका लागि आफ्नो सारा धन सम्पत्तिलाई त्याग गर्नु पर्दैन । तपाईंको सम्पत्ति तपाईंसँगै राख्नुहोस्, तपाईंको जीवन कष्टमय बनाउने त्यो होइन । तपाईं अनुरागद्वारा आफ्नो भौतिक धन सम्पत्तिमा टाँसिनुभएको छस त्यसैले तपाईं बेचैन हुनुहुन्छ । अहम् र अनुरागले तपाईंको मनलाई दूषित, अस्पष्ट, अज्ञानी र विचलित तुल्याउँदछ । फलस्वरूप ज्ञानको प्रकाशलाई उत्पन्न हुनबाट बंचित गर्दछ । यस समस्याको समाधान ध्यान हो ।

ध्यानले एउटा कुनामा केही पनि नगरीकन बसेर एक बिन्दुको एकाग्रतामात्र विकास गर्दैन, ध्यान आलष्य विपरीतको मनको एउटा जागृत अवस्था हो । ध्यान ज्ञान हो । दैनिक जीवनको प्रत्येक पलमा तपाईं आफूले के गरिरहेको छु, किन गरिराखेको छु र कसरी गरिराखेको छु भन्नेबारे जागृत हुनु पर्दछ ।

हामीले प्राय सबै कुरा मनको अचेतन अवस्थामा गर्दछौँ । हामी अचेतनशील भएर खान्छौँ । हामी अचेतनशील भएर पिउँछौँ । हामी अचेतनशील भएर कुरा गर्दछौँ । हामीले आफू चेतनशील भएको दाबी गरे पनि हामीले हाम्रो मनमा उत्पन्न भइरहेको हण्डरहरूद्वारा हामीले गर्ने सम्पूर्ण कुराहरूलाई प्रभावित पारिरहेको कुराबारे पूर्णतया अचेत हुन्छौँ ।

तपाईंहरूले आफैलाई जाँच्नुहोस् । प्रयोगहरू गर्नुहोस् । म निर्णायक भैरहेको छैनँ र तपाईंहरूलाई निचो पारिरहेको पनि छैनँ । बौर्द्धधर्मले कार्य गर्ने तरिका यही हो । यसले तपाईंलाई तिनीहरू वास्तविक हुन् कि होइनन् भनेर आफ्नै अनुभवद्वारा जाँच गर्ने विचार दिन्छ । यो अति व्यवहारिक छ । मैले माथि आकाशमा भएको कुनै वस्तुका बारेमा कुरा गरिराखेको छुइनँ । यो वास्तवमा नै अति साधारण कुरा हो ।

यदि तपाईंलाई अनुरागको प्रकृतिको विशेषता र यसको लक्ष्यबारे ज्ञान नै छैन भने तपाईंले आफ्नो मित्रहरू, अभिभावक र देशप्रति कसरी करुणा जगाउनुहुन्छ ? बौद्ध दृष्टिकोणअनुसार त्यो असंभव छ । जब तपाईंले आफ्नो अभिभावक वा साथीहरूप्रति दुःख पुर्याउनुहुन्छ, तपाईंको अचेतनशील मनले कार्य गरिरहेको हुन्छ । आफ्नो क्रोधलाई मनभित्रबाट निष्कासन गर्दा क्रोधि व्यक्ति उसको मनभित्र के भैरहेको छ भन्नेबारे पूर्णतया स्मरणविहीन हुन्छ । अचेनतशील हुँदा हामीले अन्य प्राणीहरूलाई हानि पुर्याउँदछौ र उनीहरूलाई सम्मान गर्दैनौं । हामीले हाम्रो व्यवहार र मनोबृत्तिबारे अचेतनशील भएर मानवता गुमाउँदछौं । कुरा त्यत्ति नै हो । कस्तो साधारण छ होइन त ?

आजभोलि मानिसहरू मनोचिकित्सक हुनलाई कलेजमा अध्ययन गरेर तालिमसमेत प्राप्त गर्दछन् । भगवान् बुद्धको विचारमा सम्पूर्ण मानिसहरू मनोचिकित्सक हुनु पर्दछ । यो निश्चय नै संभव छ । सबै चेतनशिल मानव प्राणीहरूको आफ्नो मनलाई बुझ्ने क्षमता छ । जब तपाईंले आफू स्वयंको मनलाई बुझ्नु हुन्छ, प्राकृतिक रूपले त्यसमाथि नियन्त्रण उत्पन्न हुन्छ ।

मैले भनेअनुसार, नियन्त्रण कुनै हिमाली यात्रा वा धन सम्पत्ति नहुने व्यक्तिहरूका लागि त्यो प्राप्त गर्न सजिलो हुनैपर्दछ भनेर नसोच्नुहोस् । यो आवश्यकरूपले साँचो नै हुन्छ भन्ने छैन । अर्को पटक जब तपाईं भावनात्मक रूपले खिन्न हुनुहुन्छ आफै जाँच गरेर हेर्नुहोस् । कुनै काममा ब्यस्त भएर आफ्नो ध्यान अन्यत्र नलागाएर आराम गर्नुहोस् र आफूले के गर्दै छु भन्नेबारे चेतनशील हुनुहोस् । "म यो किन गर्दै छु ? म यो कसरी गर्दै छु ? त्यसको कारण के हो ?" भनेर आफैलाई प्रश्न गर्नुहोस् । तपाईंले यसलाई एउटा आर्श्चर्यको अनुभव भएको पाउनु हुनेछ । तपाईंको मुख्य समस्या सघन बोध ज्ञान, चेतना वा सावधानीको कमि हो । त्यसकारण बुझाइद्वारा तपाईंको समस्या सजिलै समाधान गर्न सक्नुहुन्छ ।

अरूका लागि करुणा अनुभव गर्नका लागि तपाईंले त्यस वस्तुको प्रकृतिबारे थाहा पाउनर्ुपर्दछ ।  यदि तपाईंले त्यसबारे थाहा पाउनुभएको छैन भने "म उनीलाई माया गर्दछु" वा "म उहाँलाई माया गर्दछु" भने पनि त्यो अहंकारयुक्त मन हो, जसले तपाईंलाई  अहम्ताको अर्को यात्रातर्फलैजान्छ । 'कसरी र किन' भन्नेबारे आफूलाई राम्ररी थाहा छ भन्नेबारे तपाईं निश्चित हुनुहोस् । तपाईं आफू स्वयंको मनोचिकित्सक बन्नु धेरै महत्त्वपूर्ण छ अनि मात्र तपाईं आफ्नो मनको बोधलाई बुझेर त्यसको उपचार गर्न सक्नुहुन्छ । तपाईंले हताष र सन्काहा भएर जीवन त्यसै खेर फाल्नुको बदला त्यससँग आराम गर्न सक्नुहुन्छ र आफ्नो मित्र र धनसम्पत्तिसँग रमाउन सक्नुहुन्छ ।

तपाईंले आफ्नो मनोचिकित्सक आफै बन्नका लागि कुनै त्यस्तो ठूलो दर्शनबारे ज्ञान हासिल गर्न आवश्यक छैन । त्यसका लागि तपाईंले गर्नुपर्ने कुरामा प्रत्येक दिन आफ्नो मनलाई जाँचे पुग्छ । तपाईंले प्रत्येक दिन भौतिक वस्तुहरू जाँच्नुहुन्छ । प्रत्येक बिहान तपाईंले आफ्नो भान्छा घरमा खानेकुरा जाँच्नुहुन्छ तर तपाईंले आफ्नो मनलाई भने कहिल्यै जाँच्नुहुन्न । मनलाई जाँच्न अति नै महत्त्वपूर्ण छ ।

तथापि धेरै मानिसहरू त्यसको ठीक विपरीतको विश्वास राख्दछन् । तिनीहरूले सामना गर्न परिरहेको सम्पूर्ण समस्याहरूको समाधानलाई खरिद गर्न सकिन्छ भन्ने सोच्दछन्झैँ लाग्दछ । खुसी हुनका लागि शान्त मनलगायत जुनसुकै वस्तुलाई पैसाले किन्न सकिन्छ भन्ने भौतिक मानोवृत्ति प्रत्यक्ष रूपमा गलत छ तर तपाईंले ती शब्दहरू नभने पनि तपाईंले सोचेको कुरा यही हो । यो एउटा पूर्णतया गलत धारणा हो ।

आफूलाई धार्मिक भन्ने मानिसहरूले समेत आफ्नो मनलाई बुझ्नु जरुरी छ । आस्थाले मात्र समस्याहरू को समाधान हुन सक्दैन । बोध ज्ञानलाई बुझ्दा जहिले पनि समस्याहरूको समाधान हुन्छ । बुद्ध स्वयंले भन्नु भएअनुसार बुद्ध स्वयंप्रतिको विश्वास खतरनाक हुन्छ । कुनै कुरामा त्यतिकै विश्वास गर्नुको सट्टा मानिसहरूले आफ्नो मनको वास्तविक प्रकृति पत्ता लगाउन आफ्नो मनलाई प्रयोग गर्नुपर्दछ । ज्ञानमा आधारित आस्था असल हुन्छ । जब तपाईंले महसुस गर्नुहुन्छ वा बौद्धिक रूपले कुनै कुराबारे स्पष्ट हुनुहुन्छ भने आस्था स्वयं उत्पन्न हुन्छ तर तपाईंको आस्था गलत धारणामा आधारित छ भने त्यसलाई अरूले भनेको कुराहरूद्वारा सजिलै नष्ट हुन सक्दछ ।

दुर्भाग्यबस, उनीहरूले आफू स्वयंलाई धार्मिक सम्झे पनि आध्यात्मिक रूपले लागेका मानिसहरू पनि कमजोर छन् । किन - किनभने तिनीहरू आफ्नो मनको वास्तविक प्रकृति बुझ्दैनन् । यदि तपाईंले आफ्नो मन के हो र यसले कसरी कार्य गर्दछ भन्नेबारे वास्तविक रूपले थाहा पाउनुहुन्छ भने तपाईंले तपाईं आफू स्वस्थ्य हुनलाई जेले रोकेको छ, त्यो मनको उर्जा हो भन्ने कुरालाई बुझ्नुहुन्छ । जब तपाईंले संसारबारे आफ्नो मनको दृष्टिकोण वा सोचाइबारे बुझ्नुहुन्छ, तपाईंले यो कुरा महसुस गर्नुहुनेछ कि चेतनाको संसारमा तपाईं निरन्तर रूपले जाकिदै गरेको मात्र होइन कि तपाईं जे कुराको चंगुलमा जाकिदै जानुभएको छ त्यो काल्पनिक मात्र हो भन्ने कुरा पनि महसुस गर्नुहुनेछ । तपाईंले देख्नुहुनेछ कि तपाईं अस्तीत्वविहीन भविष्यमा के हुन गइरहेको छ भनी तपाईं अधिक चासो लिने गर्नुहुन्छ र तपाईं केवल प्रक्षेपणका लागि मात्र जिउनुहुँदैछ भन्ने अहिलेको क्षणबारे पूर्णरूपले अचेतनशील हुनुहुन्छ । वर्तमानमा अचेतन र भविष्यको चंगुलमा निरन्तर जकडिएको मन अस्वस्थ्य मन हो भन्ने कुरामा सहमत हुनुहुन्छ ?

दैनिक जीवनमा तपाईं चेतनशील हुनु अति महत्त्वपूर्ण छ । चेतनशील ज्ञान र बोधको प्रकृति शान्ति र आनन्द हो । तपाईंले भविष्यमा देखापर्ने आनन्दको चंगुलमा जकडिन आवश्यक छैन । जति सक्नुहुन्छ तपाईंले उचित बोध र उचित कार्यको पथ आफ्नो क्षमताले भ्याएसम्म अनुशरण गर्नुभयो भने त्यसको परिणाम तुरन्तै त्यसका कार्यहरूसँग एकसाथ देखा पर्दछ । तपाईंले "यदि मैले मेरो जीवन असल कार्य गरेर बिताएँ भने शायद अर्को जीवनमा असल परिणाम प्राप्त गर्नेछु" भन्ने सोच्न पर्ने छैन । तपाईंले भावी उपलब्धि र  भावी साक्षात्कारहरूबारे मनमा पिर लिनु पर्दैन । तपाईं आफूले सक्दो रूपले वर्तमानमा बोध ज्ञानद्वारा कार्य गर्नुभयो भने दीगो शान्ति तुरुन्तै प्राप्त गर्नुहुनेछ ।

मलाई लाग्दछमबाट अहिलेलाई यत्ति नै । अब म मात्र बोलिरहनुभन्दा प्रश्नोत्तरतिर लागे असल होला । धन्यवाद !

प्रश्न - तपाईंले ध्यानको चर्चा गर्नुभएको बेला दृष्यभाव Visualization बारे चर्चा गर्नुभएन । केही मानिसहरू दृष्यभाव गर्न सापेक्ष रूपमा सहज भएको अनुभव गर्दछन् भने केहीले त्यो अति कठिन भएको महसुस गर्दछन् जस्तो लाग्दछ । मनमा दृष्यभाव गर्ने क्षमताको विकास गर्ने कुराको कति महत्त्व छ ?

लामा- केही मानिसहरूका लागि आफूलाई तोकिएको दृष्यभाव गर्न आफ्नो मनलाई त्यस्तो गर्ने कार्यमा तालिम नदिएको कारणले कठिन हुन्छ । तर अरू मानिसहरूका लागि कल्पना शक्ति कमजोर भएको कारणले त्यस्तो हुन्छ । उनीहरू बढी भौतिकवादी हुन्छन् । सायद उनीहरूका लागि आफू 'हुनु'को मुख्यरूपले महत्त्वपूर्ण वस्तु नै भौतिक शरीर हो र उनीहरूलाई मस्तिष्कको मनपक्ष छैन भन्ने लाग्दछ । यद्यपि बुर्द्धधर्ममा आफ्नो मनलाई तालिम दिएर ध्यानमा दृष्यभाव गर्ने सक्षमताको विकास गर्ने विधिहरू उपलब्ध छन् । तर वास्तवमा तपाईंले दिनभरि नै प्रशस्तमात्रामा दृष्यभाव गर्नुहुन्छ ।  तपाईंको बिहानको खाजा पनि दृष्यभाव हो । किनमेल गर्न जाँदा "यो राम्रो छ ।" वा "मलाइ त्यो मन परेन ।" भनेर सोच्दा तपाईंले जे हर्ेदा पनि त्यो आफ्नै मनको प्रक्षेपण हो । बिहान उठेर सूर्यको झलमल्ल प्रकाश देख्दा तपाईं मनमनै सोच्नुहुन्छ- " ! आजको दिन राम्रो हुनेरहेछ" त्यो तपाईंको आफ्नै मनको दृष्यभाव हो । वास्तवमा दृष्यभावलाई राम्ररी बुझिएको छ । पसलका साहुजी र विज्ञापनका एजेन्टहरूले दृष्यभावको महत्त्व थाहा पाएका छन् । त्यसैले तिनीहरूले तपाईंको ध्यान आकृष्ट गर्नका लागि धेरै पैसा खर्च गरेर साइनबोर्ड र बिलबोर्डहरू बनाउँछन् । "यो किन्नुहोस्" तपाईंले देखेको कुराले तपाईंको मनलाई, तपाईंको दृष्यभावलाई प्रभाव पार्दछ भन्ने कुरा तिनीहरूलाई थाहा छ । दृष्यभाव कुनै अलौकिक वस्तु होइन यो वैज्ञानिक छ ।

प्रश्न - तपाईंले भनेको कुराबाट मलाई यस्तो लाग्यो कि तपाईं पश्चिमाहरूप्रति केही आलोचनात्मक हुनुहुन्छ । हामीले गरेको असभ्यहरूलाई सभ्य बनाउने कोसिस गर्ने तरिकामा तपाईं हाँस्नुहुन्छ । मेरो वास्तवमा कुनै प्रश्न छैन । ठूला ठूला हवाईजाहज, ठूला ठूला महलहरू, ठूला ठूला सुपरमार्केटहरू बनाउने कथित विकसित पाश्चात्य देशहरूको सम्बन्धमा मानवको भविष्य कस्तो देख्नुहुन्छ ? पश्चिमाहरूको भविष्य कस्तो देख्नुहुन्छ ?

लामा - पश्चिमाहरू व्यस्तभन्दा व्यस्त हुदैछन् र बढी भन्दा बढी आरामविहीन हुदैछन् । मैले भौतिक वा तकनिकि विकासको आलोचना गरेको होइन बरु मैले अनियन्त्रित मनको आलोचना गरेको हुँ । किनभने तपाईंलाई तपाईं के हो भन्ने कुरा थाहा छैन । तपाईं एउटा अन्धो जस्तै भएर मैले "सुपरमार्केट कल्याण" भन्ने गरेको बस्तुमा जकडिएर आफ्नो जीवन बिताउनुहुन्छ । तपाईंले आफ्नो जीवनलाई क्षूब्ध बनाउनुहुन्छ । आरामविहीन बनाउनुहुन्छ । जीवनलाई एकीकृत गर्नुको बदला त्यसलाई छरपस्ट बनाउनुहुन्छ । आफू स्वयंलाई जाँच गर्नुहोस् । मैले तपाईंलाई निच देखाउन खोजेको होइन । वास्तवमा बुर्द्धधर्मले हामीलाई कसैको जीवन पद्दतिलाई स्वाभिमानी भएर निच देखाउन अनुमति दिदैन । मैले केवल सल्लाह मात्र दिन खोजेको के हो भने तपाईंहरूले भौतिक वस्तुहरूलाई हेर्ने दृष्टिकोणलाई बदल्नुहोस् ।

प्रश्न - लामा तपाईं जस्तै हामीले देखेका तिब्बती गुरुहरूमध्येका प्राय सबैजसो गुरुहरू पुरुषहरू छन् । महिला गुरु वा टुल्कु छन् कि छैनन् भन्ने मेरो मनमा जिज्ञासा उन्पन्न भएको छ ।

लामाछन्, अवश्य । मनको उच्च अवस्था विकास गर्ने सम्बन्धमा पुरुष र स्त्रीबीच समानता छ । तिब्बतमा कहिलेकाहिँ स्त्री रिम्पोछेबाट शिक्षा लिइन्छ । बुर्द्धधर्मको उपदेशअनुसार मानिसहरूको मूल्याङ्कन बाह्य आवरणबाट गरिँदैन । "ऊ केही पनि होइन म नै विशेष हुँ" भनेर तपाईंले भन्न सक्नुहुन्न । बाहिरी आवरण देखेर तपाईंले को उच्च र को निम्न भनेर मूल्याङ्कन गर्न सक्नुहुन्न ।

प्रश्न - बौद्ध भिक्षु र भिक्षुणीहरूको भिन्दा भिन्दै भूमिका हुन्छ कि ?

लामा- त्यस्तो होइन, उनीहरूले एउटै उपदेश अध्ययन गर्दछन् र उनीहरूको शिष्यहरूलाई एकै तरिकाले पढाइन्छ ।

प्रश्न- कहिलेकाहिँ गुरु पाउन धेरै कठिन हुन्छ । उदाहरणका लागि पुस्तक अध्ययन गरेर तन्त्र अभ्यास गर्नु खतरनाक हुन्छ ?

लामा- हो । अत्यन्त खतरनाक हुन्छ । विशेष निर्देशनविना कुनै पुस्तक लिएर- "वाह ! क्या गजबको बिचार, म यो अहिल्यै अभ्यास गर्न चाहन्छु" भन्न सक्नुहुन्न । त्यसप्रकारको प्रवृत्तिले कहिल्यै उपलब्धि हासिल गर्न सकिँदैन । तपाईंलाई एकजना अनुभवी गुरुको मार्गदर्शनको आवश्यकता हुन्छ । विचारहरू अवश्य नै गजबका छन् तर तपाईंले त्यसको विधि जान्नुभएन भने तपाईंले त्यसलाई आफू स्वयंको अनुभवमा अभ्यास गर्न सक्नुहुन्न । तपाईंसँग त्यसको साँचो हुनु आवश्यक हुन्छ । हाल अंग्रेजी भाषामा कैयन पुस्तकहरू अनुवाद भएका छन् । त्यसले भन्दछ "अनुराग खराब कुरा हो । तपाईं क्रोधित नहुनुहोस्" तर तपाईंले अनुराग र क्रोधलाई कसरी त्याग्न सक्नुहुन्छ - वाइबलले पनि अन्तर्रर्ााट्रय करुणाको सिफारिस गर्दछ तर तपाईंले आफ्नो अनुभवमा अन्तर्रर्ााट्रय करुणालाई कसरी ल्याउनु हुन्छ - तपाईंसँग साँचो हुनु आवश्यक छ र कहिलेकाहिँ त्यो तपाईंलाई एकजना गुरुले मात्र दिन सक्नुहुन्छ ।

प्रश्न- गुरु नपाएपछि पश्चिमाहरूले के गर्नु पर्दछ ? वास्तवमै गुरु खोज्नलाई पूर्वतर्फजानै पर्दछ कि ?

लामा- चिन्ता नगर्नुहोस् । जब समय परिपक्व हुन्छ, तपाईंले आफ्नो गुरुलाई भेट्टाउनुहुनेछ । अरू मानिसहरूलाई "सबैले ध्यान गर्न सिक्नुपर्दछ । सबैले धर्म मान्नुपर्दछ" भनेर त्यसतर्फधकेल्ने कुरामा बुर्द्धधर्मले विश्वास गर्दैन । त्यो मूर्खता हो । मानिसहरूलाई जबर्जस्ती त्यसतर्फधकेल्नु अविवेकीपन हो । जब तपाईं तैयार हुनुहुन्छ, कुनै प्रकारको ऋद्धि शक्ति उत्पन्न भएर तपाईंलाई तपाईंको गुरुसँग भेट गराउँदछ । पूर्वतर्फजाने सम्बन्धमा त्यो तपाईंको व्यक्तिगत अवस्थामा भर पर्ने कुरा हो । जाँच गर्नुहोस् । अन्धविश्वासद्वारा होइन, बोधद्वारा खोजी गर्नु महत्त्वपूर्ण छ । कहिलेकाहिँ तपाईं पूवतर्फगएर पनि तपाईंले गुरु नभेट्ने हुन सक्तछ । त्यसमा समय लाग्न सक्तछ ।

प्रश्न - आत्महत्याप्रति बौद्ध दृष्ट्रिकोण कस्तो छ ?

लामा- आत्महत्या गर्ने मानिसहरूले मानव चोलामा जन्म लिनुको उद्देश्य र महत्त्व बुझेका हुँदैनन् । अज्ञानताका कारण तिनीहरू आफैले आफ्नो प्राण लिन्छन् । तिनीहरूले सन्तुष्टि प्राप्त गर्दैनन् र "म बेकारको छु" भन्ने सोच्दछन् ।

प्रश्न - यदि कुनै मानिसले शायद अज्ञानतावशः बोधिज्ञान प्राप्त गरेको विश्वास गर्दछ भने ऊ जीउँदो रहनुको उद्देश्य के हुन्छ ?

लामा - एकजना अज्ञानी मानिसले आफूले बोधिज्ञान प्राप्त गरेको ठान्दछ भने उसको मन पूर्णरूपले दूषित भएको हुन्छ र आफ्नो अज्ञानताको चक्रबृद्धि गर्दछ । उसले गर्नु पर्ने एउटा मुख्य कुरामा उसले आफ्नो अनियन्त्रित मनको कार्यलाई जाँच गर्नुपर्दछ । त्यसपछि उसले बोधिज्ञान प्राप्त गरेको छैन भन्ने कुरा महसुस गर्दछ । तपाईंले "के मैले बोधिज्ञान प्राप्त गरें ?" भनेर अरूलाई सोध्न पनि पर्दैन । आफ्नो अनुभवहरूलाई जाँच गरे पुग्छ । बोधिज्ञान एउटा नितान्त व्यक्तिगत कुरा हो ।

प्रश्न- तपाईंले विश्वासहरूबारेको समझदारीलाई दिएको महत्त्वको तरिका मलाई मन पर्यो तर पश्चिमा संसारमा हुर्केको वा वैज्ञानिक शिक्षा पाएको मानिसले वर्तमान, भूत र भविष्यको पुनर्जन्मको अवधारणालाई कसरी बुझ्ने - तिनीहरूको अस्तित्व छ भनेर तपाईंले कसरी प्रमाणित गर्नुहुन्छ ?

लामातपाईंले आफ्नो मनको निरन्तरतालाई आफू आमाको कोखमा एउटा भ्रुण अवस्थामा भएदेखि हालसम्म महसुस गर्न सक्नुहुन्छ भने तपाईं त्यो कुरा बुझ्नुहुन्छ । तपाईंको मनको उर्जाको निरन्तरता करिब करिब एउटा विद्युत्गृहबाट उत्पन्न भई तारमार्फ् प्रवाह भएर एउटा बत्ती बाल्न पुगेसम्मको विद्युत्को प्रवाह जस्तै हो ।

आमाको कोखमा प्रवेश गरेदेखि तपाईंको शरीरको विकाससँगै तपाईंको मनको उर्जा पनि निरन्तर रूपले त्यससँगै प्रवाहित हुन्छ त्यहाँ निरन्तर रूपले परिवर्तन हुन्छ । परिवर्तन-परिवर्तन-परिवर्तन........ र यदि तपाईंले त्यो महसुस गर्नुभयो भने तपाईंले सजिलै आफ्नो मनको पहिलेको निरन्तरताबारे बुझ्नुहुनेछ ।  म जहिले पनि भन्दछु यो केवल विश्वासको प्रश्न मात्र होइन । सुरुमा यो विचारलाई स्वीकार गर्नु अवश्य गाह्रो हुन्छ । किनभने आजकल अधिकांश व्यक्तिहरूका लागि विशेष गरेर उनीहरूलाई बिद्यालयमा चेतनाको निरन्तरताबारे शिक्षा दिइदैन, मनको प्रकृतिबारे तपाईंले अध्ययन गर्नुहुन्न, तपाइँ के हो ? तपाईं को हो ? भन्नेबारे विश्वविद्यालयहरूमा शिक्षा दिइँदैन त्यसैले यी सवै तपाईंका लागि अवश्य नौलो हो । तर यदि तपाईंले तपाईं को हो के हो ? र तपाईंले ध्यानद्वारा मनको जाँचबुझ गर्ने कुरा जान्न महत्त्वपुर्ण छ भन्ने सोच्नुहुन्छ भने तपाईंले आफ्नो शरीर र मनको भिन्नताबारे सजिलै बुझ्नुहुनेछ । तपाईंले आफ्नो चेतनाको निरन्तरतालाई बुझ्नुहुनेछ । त्यहाँबाट नै तपाईंले आफ्नो पहिलेको जीवनबारे महसुस गर्न सक्नुहुनेछ । विश्वासले मात्र पुनर्जन्मलाई स्वीकार गर्न आवश्यक छैन ।

प्रश्न - कृपया ध्यान, बोधिज्ञान र भविष्यलाई देख्ने, अरूको मनको कुरा थाहा पाउने, टाढाको कुनै स्थानमा के भइराखेको छ भनेर देख्ने जस्ता असाधारण मनको शक्तिहरूको आपसी सम्बन्धहरूबारे व्याख्या गरिदिनुहोस्

लामा - एक बिन्दुमा केन्द्रित ध्यानको विकास गरेर, अदृष्यदर्शी शक्ति प्राप्त गर्न अवस्य संभव छ । तर हामीले धेरै नै मेहनत गर्नु पर्दछ । तपाईंले विस्तारै विस्तारै आफ्नो मनलाई राम्ररी चिन्दै गएपछि तपाईंले त्यस्ता कुरा देख्ने शक्तिको क्रमश विकास गर्न सक्नुहुन्छ । तर यो कुरा त्यत्ति सजिलो भने छैन । यो एकपटक ध्यान गर्दैमा अचानक भविष्य देख्न सक्ने वा बोधिज्ञान प्राप्त गर्न सक्ने भन्ने कुरा होइन । यसका लागि अवश्य नै समय लाग्दछ ।

प्रश्न- यदि तपाईंले ध्यान गर्नुहुन्छ र बोधिज्ञान पाउनेतर्फकार्य गर्नुहुन्छ भने त्यस्तो शक्ति कुनै नियन्त्रणका साथ आउँदछ कि कुनै नियन्त्रणविना अचानक आउँदछ ?

लामा- वास्तविक शक्ति नियन्त्रणका साथ आउँदछ । तिनीहरू लागूपदार्थ सेवन गरेपछि अनुभव हुने अनियन्त्रित भावनात्मक मतिव्रि्रम जस्तो पटक्कै होइन । बोधिज्ञान प्राप्त गर्नुभन्दा पहिले पनि तपाईंले आफ्नो भूतकाल र भविष्यको जीवन र मानिसहरूको मनको कुरा थाहा पाउने अन्तर्ज्ञानको उचित तरिकाले विकसित पार्न सक्नुहुन्छ । तर यो बोधको नियन्त्रित र क्रमबद्ध विकासद्वारा मात्र प्राप्त गर्न सकिन्छ ।

प्रश्न - के तपाईंसँग आफ्नो मनलाई शरीरसँग अलग पारेर अन्तरिक्षयात्रा वा अन्य कुनै कार्य गर्ने शक्ति छ ? के परमपावन दलाई लामा सँग त्यस्तो शक्ति छ ?

लामा- तिब्बतको महायान बुर्द्धधर्मको परम्परामा निश्चय नै अलौकिक शक्तिको विकास गर्ने अविच्छिन्न मौखिक शिक्षाको परम्परा छ । जुन गौतम बुद्धको पालादेखि नै अहिलेसम्म सिद्ध गुरुहरूबाट शिष्यहरूमा परम्परागत रूपमा र्सर्दै आएको छ  तर त्यस्तो उपदेशको अस्तीत्व छ भन्दैमा मैले त्यो सिद्धि प्राप्त गरेको छु भन्नेछैन । अझ भन्नुपर्दा, तिब्बती बुर्द्धधर्मले त्यस्तो सिद्धि भएको कुनै पनि लामालाई त्यसबारे घोषणा गर्न प्रतिबन्ध लगाइएको छ । बोधिज्ञान प्राप्त गरेको भए पनि कुनै असल कारणविना 'म बुद्ध हुँ' भनेर दावी गर्दै जताततै हिँडने अनुमति कसैलाई पनि छैन । सावधान हुनुहोस् । हाम्रो परम्परा तपाईंहरूको परम्पराभन्दा फरक छ । पश्चिममा तपाईंले मानिसहरूले "हिजो राति सपनामा देवताले मसँग कुरा गर्यो" भनेको सुन्न सक्नुहुन्छ । हामीलाई लाग्दछ, मनिसहरूले आफ्नो रहस्यात्मक अनुभवहरूबारे खुलासा गर्नु खतरनाक हुन सक्छ । त्यसैले हामीले त्यस्तो कुराका लागि अनुमति दिँदैनौँ ।

प्रश्न केही वर्षहिले मैले एकजना असाधारण शक्ति भएका भद्रपुरुषका बारेमा लेखिएको 'तेस्रो आँखा' भन्ने एउटा पुस्तक पढेको थिएँ । 'तेस्रो आँखा' खुलेका धेरैजना मानिसहरू छन् कि ?

लामा- त्यस पुस्तकका लेखक लोब्साङ राम्पाले त्यस पुस्तकमा जे लेख्नुभएको छ, त्यो यथा शब्दको भ्रम हो । 'तेस्रो आँखा' कुनै भौतिक वस्तु होइन बरू बोधको लाक्षणिक अभिव्यक्ति हो । साधारण चेतनाको ज्ञानभन्दा परको तपाईंको मनको प्रकृतिलाई हर्ेर्ने नै तपाईंको 'तेस्रो आँखा' को ।

प्रश्न- बुर्द्धधर्ममा विश्वास गरिने पर्ुनर्जन्ममा एउटा जीवनदेखि अर्को जीवनसम्मको अवधि कति लामो हुन्छ बताइदिनुहुन्छ कि ?

लामा- त्यसको अवधि केही क्षणदेखि उनन्पचास दिनसम्म हुन्छ । शरीरबाट चेतना अलग हुनासाथ अन्तराभव (भार्दो) अवस्थाको अति सूक्ष्म शरीरले त्यस चेतनालाई पर्खिरहेको हुन्छ । अर्को भौतिक शरीरमा प्रवेश गर्नका लागि उत्कण्ठाको शक्तिको कारण अन्तराभवमा रहेका प्राणीहरूले सुहाउँदो स्वरूपको खोजी गर्दछ र त्यस्तो कुनै स्वरूप पाउनासाथ पर्ुनर्जन्म लिन्छ ।

प्रश्न- जनसंख्या वृद्धिलाई बुर्द्धधर्मले कसरी व्याख्या गर्दछ ? यदि तपाईं पुनर्जन्ममा विश्वास गर्नुहुन्छ भने जनसंख्या विस्फोट कसरी संभव छ ?

लामा- त्यो सरल छ । आधुनिक विज्ञानले झैँ बुर्द्धधर्मले करोडौँ करोड अन्तरिक्षका तारामण्डल पद्दतिहरूको अस्तित्वलाई मान्यता दिन्छ । पृथ्वीमा जन्म लिएका मानिसहरूको चेतना टाढाको कुनै अन्तरिक्षको कुनै तारा मण्डलको पद्दतिबाट उसको मनको उर्जाको सम्बन्ध यस धर्तीमा कायम गर्ने कर्मको शक्तिले डोर्याएर यहाँ जन्म लिन पुगेको हुन सक्तछ । अर्कोतर्फ यस पृथ्वीमा मृत्य हुने मानिसको चेतना मृत्युहुने समयमा कर्मको सम्बन्धले यहाँबाट धेरै टाढाको अन्तरिक्षको तारा मण्डलको पद्दतिमा जन्म लिनेतर्फनिर्देशित भएको हुन सक्तछ । यदि पृथ्वीतिर बढी मनहरू तानियो भने जनसंख्या वृद्धि हुन्छ । यदि कम भयो भने घट्दछ । यसको मतलव नितान्त नौलो मनहरू अस्तित्वमा आउँदछन् भन्ने होइन । यस भूमिमा जन्म लिने प्रत्येक मन सायद अर्को अन्तरिक्षबाट वा यो धर्तीबाटै पनि कहीँबाट नभई कुनै न कुनै स्थानबाट संासारिक अस्तित्वको चक्रीय प्रकृतिअनुसार त्यसको पर्ूवजन्मबाट आउँदछ ।

प्रश्न- के बौद्धध्यान पद्दति अन्य पद्दतिभन्दा फरक छ ? कि यो फरक मानिसहरूका लागि अनुकूल फरक पद्दतिको ध्यान हो ?

लामा- अरू धर्मको भन्दा बुर्द्धधर्मको ध्यान पद्दति असल छ भनेर म भन्न सक्तिनँ । यी सबै कुराहरू व्यक्तिमा नै भर पर्दछ ।

प्रश्न- यदि कसैले एउटा पद्दतिको ध्यान अभ्यास गरिरहेको छ भने मानौँ भावातीत ध्यान Transcendental Meditation अभ्यास गरिरहेको छ भने त्यस व्यक्तिले बुर्द्धधर्मको ध्यान पद्दति पनि प्रयोग गरी हर्ेदा कस्तो हुन्छ ?

लामा- कुनै जरुरी छैन । यदि तपाईंको ध्यान पद्दतिले तपाईंको मनलाई पूर्णरूपले जागृत गराउँदछ र दीगो शान्ति र सन्तुष्टि प्रदान गर्दछ भने अर्को ध्यान पद्दति किन अपनाउने - तर यदि तपाईंको ध्यान अभ्यासको वावजूद पनि तपाईंको मन प्रदूषित र कार्यहरू अनियन्त्रित नै भयो भने र जानाजान, लगातार रूपले अरूलाई हानि पुर्यायो भने मलाई लाग्दछ, तपाईंले धेरै मेहनत गर्नुपर्दछ द्यबदथ । यो एउटा नितान्त व्यक्तिगत कुरा हो ।

प्रश्न- के एउटा बोधिसत्वले सामाजिक समन्वय सिर्जना गर्नका लागि मार्क्सवादी बन्न सक्तछ ? मेरो मतलब के  मार्क्सबादमा बोधिसत्वका लागि कुनै स्थान छ ? वा बोधिसत्वमा मार्क्सबादका लागि कुनै स्थान छ ? प्राणीहरूको दुःखकष्टलाई निर्मूल पार्नका लागि के मार्क्सबाद एउटा साधन बन्न सक्तछ ?

लामा- बोधिसत्वको कार्यबारे चर्चा गर्नु म जस्तो व्यक्तिका लागि कठिन कुरा हो । तर सामाजिक समस्याहरूलाई रोक्नका लागि एउटा बोधिसत्व मार्क्सबादी बन्न सक्दछ भन्ने कुरामा मलाई शंका लाग्दछ । मानिसहरूको मनमा समस्याहरू हुन्छन् । सामाजवादी, साम्यवादी वा पँूजीवादी जुनसुकै समाजमा तपाईं बसे पनि तपाईंको समस्या तपाईं आफैले समाधान गर्नु पर्दछ । तपाईं स्वयंले आफ्नो मनलाई जाँच्नु पर्दछ । तपाईंको समस्या समाजको समस्या होइन र मेरो समस्या पनि होइन । तपाईंको बोधिज्ञान र मुक्तिका लागि तपाईं स्वयं उत्तरदायी भए जस्तै तपाईंका समस्याहरूको उत्तरदायी तपाईं स्वयं हो । नत्रभने तपाईंले भन्नुहुनेछ "विशालबजारमा मानिसहरूलाई आवश्यक पर्ने सामान प्राप्त हुने भएकाले विशाल बजारले मानिसहरूलाई सहायता गर्दछ । यदि मैले विशालबजारमा काम गरें भने मैले वास्तवमा समाजका लागि योगदान दिएको हुनेछ ।" र त्यो केही समयका लागि गरेपछि तपाईंले भन्नुहुनेछ -"हुनसक्छ विशाल बजारले त्यति धेरै मद्दत गर्दैन । यदि मैले कार्यालयमा काम गरेँ भने म मानिसहरूका लागि अझ बढी सहायता गर्न सक्नेछु" यी कुनैले पनि सामाजिक समस्याको समाधान हुदैन । सबै भन्दा पहिले मार्क्सबादी भएर एउटा बोधिसत्वले माता प्राणीहरूलाई सहायता गर्न सक्तछ भन्ने विचार कहाँबाट आयो भन्ने कुरा तपाईंले जाँच गर्नु पर्दछ ।

प्रश्न- मैले यस्तो सोचेको थिएँ कि आज संसारमा कैयन मानिसहरू आधारभूत आवश्यकताबाट वंचित भएर भोका छन् । भोक र आफ्नो परिवारको रक्षा र सुरक्षाको चिन्तामा फसेका उनीहरूका लागि उनीहरूको मनको प्रकृति जस्ता सूक्ष्म पक्षहरूबारे बोध गर्नु कठिन हुन्छ ।

लामा- हो तपाईंले भन्न खोजेको कुरा मैले बुझें । तर यो नबिर्सनुस् कि भोकले सताएर मर्नलागेको मानिसको अवस्था र विशालवजारमा भुँडी भर्नलाई अरू केही छ कि भनेर खोज्ने भुँडे मानिस आधारभूत रूपमा उही हो । भौतिक वस्तु नपाएका मानिसहरूमाथी मात्र ध्यान केन्द्रित नगर्नुहोस् । गरिब र धनी दुवैको मनमा वाधा पुगेको हुन्छ र आधारभूत रूपमा एउटा अर्को जत्ति नै खुसी हुन्छ ।

प्रश्न- भगवान् कृष्णले भारतलाई धर्मको आध्यात्मिक युद्धमा एकीकृत पार्नुभयो त्यसको परिणाम स्वरूप एक समयमा भारतका सम्पूर्ण मानिसहरू आध्यात्मिक अभ्यासमा लाग्ने क्षमता राख्दथे । हामीले धर्तीका सम्पूर्ण मानिसहरूका लागि धर्म फैलाएर एउटा आध्यात्मिक समाजवादद्वारा एउटा असल विश्व समुदाय स्थापना गर्न सक्तैनौँ र ?

लामा- र्सवप्रथम मलाई लाग्दछ, तपाईंले भनेको कुरा संभावित रूपले धेरै खतरनाक हुन सक्तछ । तपाईंले भन्न खोजेको  कुरा केही व्यक्तिले मात्र बुझ्न सक्तछ । साधारणतया, माता प्राणीहरूलाई हानि पुर्याउने कार्य बोधिसत्वको कार्य हो भनेर तपाईंले भन्न सक्नुहुन्न । बुर्द्धधर्मले अनुमान गरिएको धार्मिक कारणको लागि समेत अन्य प्राणीको हत्या गर्न तपाईंलाई निषेध गरेको छ । बुर्द्धधर्ममा पवित्र युद्ध ९ज्यथि ध्बच० भन्ने जस्तो कुनै कुरा छैन । तपाईंले यो कुरा बुझ्नु पर्दछ । दोस्रो कुरा, व्यक्तिद्वारा धर्तीका सबैलाई समानता दिलाउन असंभव छ । तपाईंले ब्रह्माण्डका सम्पूर्ण प्राणीहरूको भलाइ पूर्णरूपले नबुझीकन र अनुराग र आफूलाई मात्र आराम दिने मनलाई त्याग नगरीकन तपाईंले सम्पूर्ण जीवित प्राणीहरूलाई एक समान गर्न सक्नुहुन्न  । त्यो असंभव छ ।

प्रश्न- मेरो मतलब सबै मानिसलाई एक गर्ने होइन किन कि प्रत्यक्षरूपले मनका विभिन्न स्तरहरू हुन्छन् तर हामीले र्सवलौकिक मानव समाजको स्थापना सामाजिक, आर्थिक सिद्धान्तअनुसार गर्न सक्तछौँ ।

लामा- मलाई लाग्दछ तपाईंले त्यसबारे चिन्ता लिनु पर्दैन । तपाईंले मनबाट समाजबारे चिन्ता हटाए तपाईंलाई असल होला । त्यो अझ असल हुनेछ र तपाईंको वरिपरिको संसारमा के भइराखेको छ भन्ने कुराको बढी वास्तविक प्रक्षेपण हुनेछ ।

प्रश्न- तर तपाईंको स्वसिद्धि र मानवताको सेवाको सन्तुलनलाई ध्यान खिच्नु आध्यात्मिक अभ्यास होइन र ?

लामा- हो, तपाईंले समाज सेवा गर्न सक्नुहुन्छ तर तपाईंले सम्पूर्ण प्राणीहरूको कार्यलाई त्यस्तो गरेर एकै समायमा उस्तै बनाउन सक्नुहुन्न । सम्पूर्ण प्राणीहरूले तुरन्तै बोधिज्ञान प्राप्त गरून् भन्ने भगवान् बुद्ध चाहनुहुन्छ । तर हाम्रो नकारात्मक कर्म यत्ति बलियो छ कि हामी अनियन्त्रित हुन्छौँ । तपाईंले जादुको छडी चलाएर "म सबैलाई बराबरी हिसाबले खुसी तुल्याउन चाहन्छु" भनेर त्यस्तै होस् भन्ने कामना गर्न सक्नुहुन्न । ज्ञानी बन्नुहोस् । ज्ञानी मनले मात्र समानता र शान्ति दिन सक्तछ । तपाईंले त्यो भावनात्मक युक्तिसंगतले गर्न सक्नुहुन्न अनि तपाईंले यो बुझ्नु पर्दछ कि मानिसलाई समान बनाउने सम्बन्धमा भगवान् बुद्धको भन्दा साम्यवादीहरूको अत्यन्त भिन्न विचार छ । तपाईंले यस्ता भिन्न विचारहरूलाई मिसाउन सक्नुहुन्न । कल्पनाको संसारमा नरमाउनुहोस् । वास्तविकतामा आधारित हुनुहोस् ।

प्रश्न- त्यसो भए निष्कर्षा तपाईंले यस धर्तीमा एउटा सामान्य आध्यात्मिक  समाज सिर्जना गर्न असम्भव छ  भन्नुभएको हो ?

लामा- तपाईंले त्यस्तो समाज बनाउन सक्षम भए पनि त्यसबाट मानिसहरूको समस्याहरू रोकिंदैन । तपाईंले सम्पूर्ण ब्रह्माण्डका प्राणीहरूको एउटा समाज बनाएपनि त्यहाँ अझपनि अनुराग, क्रोध, भोकको अस्तीत्व हुन्छ । सबै प्राणीहरूभित्र समस्याहरू हुन्छन् । सबै मानिसहरू एकै प्रकारका हँुदैनन्, सबैजना फरक फरक हुन्छन् । हामी प्रत्येकलाई आ-आफ्नो व्यक्तिगत मनोविज्ञानको अवस्था, मनोवृत्ति र व्यक्तित्व अनुसारको विभिन्न विधिहरू आवश्यक हुन्छन् । त्यसकारणले बुर्द्धधर्मले अन्य धर्म र दर्शनहरूको अस्तित्वलाई पर्ूण्ारूपले स्वीकार गर्दछ । हामीले तिनीहरू सबैको मानव विकासका लागि आवश्यक छन् भनेर मान्दछौं । कुनै कुराबारे सोच्ने एउटा पद्दति सबै मानिसहरूका लागि उपयुक्त हुन्छ भनेर तपाईंले भन्न सक्नुहुन्न । त्यो केवल बहुलठ्ठीपन मात्र हो ।

प्रश्न- चेतनालाई विस्तृत पार्ने लागूपदार्थबारे तपाईं के भन्नुहुन्छ ? के लागूपदार्थको प्रभावमा कसैले अन्तराभव (भार्दो) को अनुभव गर्न सक्तछ ?

लामा- हो, त्यो संभव छ । अधिक मात्रामा लागूपदार्थ सेवन गर्नुहोस् । तपाईंले अन्तराभव भार्दो)को अनुभव चाँडै पाउनुहुनेछ ।...... होइन म केवल ठट्टा गर्दे थिएँ । लागूपदार्थ सेवन गरेर अन्तराभव (भार्दो) को अनुभव गर्नै कदापि सकिन्न ।

प्रश्न- के तपाईंले मानिसहरूको आभालाई पढ्न सक्नुहुन्छ ?

लामा- सक्दिनँ । तर सबैको एउटा एउटा आभा अवश्य हुन्छ । आभा भनेको कम्पन ९ख्ष्दचबतष्यल० हो । हामी सबैको आ-आफ्नै मन र शरीरको कम्पन हुन्छ । जब तपाईंको मनस्थितिमा खलबल उत्पन्न हुन्छ तपाईंको भौतिक वातावरण दृष्य रूपले परिवर्तन हुन्छ । सबै जनालाई त्यस्तै हुन्छ । विज्ञान र बुर्द्धधर्म दुवैले भनेअनुसार सम्पूर्ण भौतिक वस्तुहरूको आ-आफ्नै कम्पन हुन्छ । मानिसहरूको मनको स्थितिले तिनीहरूको शरीरको कम्पनलाई असर पार्दछ र त्यो असर मानिसको आभामा देखा पर्दछ । आभाबारेको सरल व्याख्या यही हो । यसबारे गहन तरिकाले बुझ्नका लागि तपाईंले आफ्नो मनलाई बुझ्नु पर्दछ । पहिला आफू स्वयंको मनलाई पढ्नुहोस् । त्यसपछि तपाईं अरूको मनलाई पढ्न सक्नुहुन्छ ।

प्रश्न ध्यानले भावनात्मक अवरोधहरूलाई कसरी हटाउँदछ ?

लामा- त्यसका लागि विभिन्न तरिकाहरू छन् । त्यसमध्येको एउटा आफ्नो भावनाहरूलाई बुझेर पनि हो । त्यसप्रकारले, तपाईंको भावना बोधज्ञानमा परिपाक हुन्छ । ज्ञानले भावनाहरूलाई परिपाक गर्नु वास्तवमा उत्तम कार्य हो ।

धन्यवाद ! शुभरात्रि । धेरै धेरै धन्यवाद !

ओकल्यान्ड, न्यूजिल्यान्ड
७ जुन
, १९७५

यो वेभ साईट मुकेश लामा लो द्वारा २५ जनवरी सन् २००२ देखि विश्व भरि छरीएर रहेका तामाङहरुका लागि परिकल्पना, विन्यास तथा प्रवर्ध्दन गरिएको स्वतन्त्र वेभ साईट हो ।
 

P.O.Box 13779, Kathmandu, Nepal
Tel/Fax : 00977-1-4450276, E-mail
:
ceo@tamangs.com