|
|
|
| ||
|
बज्रगुरु मन्त्रोच्चारणका
फाइदाहरू ।। ओ
म नि पद मे हँ को अर्थ ।।
विपश्यना ध्यान के हो ?
।। भद्रचरी प्रणिधान |
||||
|
|
लामा येसे मानसिक रोगबारे बौद्ध धारणा अनुवादक मुकेश लामा अध्याय २ पछिल्लो दश वर्षता म पश्चिमाहरूसँग काम गरिरहेको छु । बौद्ध मनोविज्ञानले पाश्चात्य मुलुकका मानिसहरूको मनका लागि पनि काम गर्छ कि भनेर मैले विभिन्न प्रयोगहरू गरेर हेर्दै छु । मेरो अनुभवमा यो पाश्चात्य मुलुकका मानिसहरूको मनका लागि पनि अति नै प्रभावकारी छ । भर्खरै ती विद्यार्थीमध्येका केहीले पश्चिममा मलाई निमन्त्रण गरी प्रवचन र ध्यान अभ्यासका कक्षाहरू संचालन गर्न बोलाए । त्यसैले म यहाँ तपाईहरूका बीचमा छु । हामी लामाहरूको सोचाइमा मुख्य कुरा के हो भने प्राथमिक रूपले मानव समस्याहरू बाह्य वातावरणबाट होइन, मानव मनबाट नै उत्पन्न हुन्छ । तपाईले असान्धर्भिक मान्न सक्ने कुराहरूबारे यहाँ चर्चा गर्नुभन्दा तपाईका लागि निश्चित प्रश्नहरू सोध्न असल होला ता कि मैले तपाईहरूका लागि सबैभन्दा चाखलाग्दा विषयहरूबारे चर्चा गर्न सकूँ । डा.स्टानगोल्ड - लामा तपाई यहाँ आउनुभएकोमा धेरै धेरै धन्यवाद ! तपाईले मानसिक रोग केलाई भन्नुभएको हो भन्ने प्रश्न सोधेर प्रश्नहरूको आरभ्म गर्न सक्छु कि ? लामा- मानसिक रोग भन्नाको मेरो मतलव त्यस्तो प्रकारको मन हो; जसले वास्तविकतालाई हेर्दैन । त्यो एउटा त्यस्तो प्रकारको मन हो, जसले लिएको मानिस वा वस्तुको गुणलाई अधिक रूपले बढाइ चढाइ गर्छ अथवा न्यून मूल्याङ्कन गर्दछ । जुन सधैँ समस्या उत्पन्न हुने कारण बन्दछ । पाश्चात्य मुलुकहरूमा तपाईहरूले यसलाई मानसिक रोग हो भन्ने मान्नुहुन्न तर मनोविज्ञानका पाश्चात्य व्याख्या ज्यादै संकुचित छ । यदि कोही भावनात्मक रूपले स्पष्टरूपले विचलित भएको छ भने तपाईले त्यसलाई एउटा समस्या हो भन्ने ठान्नुहुन्छ तर कसैको आधारभूत रूपमा नै आफ्नो वास्तविक प्रकृति बुझ्न, वास्तविकतालाई देख्न असक्षम छ भने त्यसलाई तपाईहरू समस्या हो भन्ने ठान्नुहुन्न । तपाईले आफ्नै आधारभूत मनोबृत्तिबारे थाहा नपाउनु एउटा ठूलो समस्या हो । मानवीय समस्या भनेको भावनात्मक क्लेश र विचलित सम्बन्ध मात्र होइन । वास्तवमा, तिनीहरू साना समस्याहरू हुन् । त्यसको तल समस्याहरूको ठूलो सागर र सतहमा त्यसका केही छालहरू देखिएजस्तो मात्र हो । हामी "ओहो ! त्यो एउटा ठूलो समस्या हो ।" भन्ने कुरामा केन्द्रित हुन्छौं र समस्याको वास्तविक कारण मानव मनको असन्तुष्ट प्रकृतिलाई वेवास्ता गर्दछौं । त्यसलाई देख्न कठिन हुन्छ तर हामीले आफ्नो असन्तुष्ट मनको प्रकृतिबारे थाहा नभएका मानिसहरूलाई मानसिक रोगी हो भन्ने मान्दछौं । तिनीहरूको मन स्वस्थ्य छैन । प्रश्न- लामा येसे, तपाईले मानसिक रोगको उपचार कसरी गर्नुहुन्छ ? मानसिक रोगीहरूलाई कसरी मद्दत पुर्याउनुहुन्छ ? लामा- हो, असल अति असल । मानसिक रोगीहरूलाई उपचार गर्ने मेरो पद्दतिमा रोगीलाई उनीहरूको आफ्नो समस्याको आधारभूत प्रकृतिलाई विश्लेषण गराउनु हो । म तिनीहरूलाई तिनीहरूको मनको वास्तविक प्रकृति देखाउने प्रयास गर्दछु ताकि उनीहरूले आफ्नै मनद्वारा आफ्नो समस्याहरूबारे बुझ्न प्रयास गरून् । यदि उनीहरू त्यस्तो गर्न सफल भए भने उनीहरू आफैले आफ्नो समस्याहरूको समाधान गर्न सक्छन् । मैले उनीहरूसँग केहीबेर कुराकानी गरेर नै उनीहरूको समस्याको समाधान गर्न सक्तछु भन्ने कुरामा म विश्वास गर्दिनँ । त्यसबाट उनीहरूले केही राम्रो भएको अनुभव गर्न सक्तछन् तर त्यो क्षणभंगुरको विश्वास मात्र हो । उनीहरूको समस्याको जरा उनीहरूको मनको गहिराइसम्म पुगेको हुन्छ । जबसम्म त्यो त्यहाँ हुन्छ, परिस्थितिहरूलाई परिवर्तन गर्दा अझबढी समस्याहरू देखा पर्ने कारण हुन सक्तछ । मेरो पद्दति आफ्नो मनको वास्तविक प्रकृति उनीहरू स्वयंले क्रमश जान्नका लागि मनको जाँच गर्न मद्दत गर्नु हो । मेरो अनुभवमा कसैलाई सानो सल्लाह दिएर उसलाई "अहो ! कस्तो महान् मेरो समस्या लोप भयो । लामाले केही शब्दहरूद्वारा नै त्यसको समाधान गरिदिनुभयो ।" भन्ने सेच्ने पार्न सकिन्छ । तर त्यो वनावटी कुरा हो । उसले त्यो कुरा बनाउँदै छ । तपाई आफ्नो मनोवैज्ञानिक आफै नबनीकन तपाईले आफ्नो मनको समस्याहरूलाई बुझ्ने अरू कुनै उपाय छैन । त्यो असंभव छ । प्रश्न- तपाईले मानिसहरूलाई तिनीहरूको समस्याहरू बुझ्न कसरी मद्दत गर्नुहुन्छ ? तपाईले त्यो कसरी गर्नुहुन्छ ? लामा- म तिनीहरूलाई आफ्नो मनलाई कसरी जाँच्ने भनेर तिनीहरूको मनको प्रकृतिको वैज्ञानिक पक्षलाई देखाइदिने प्रयास गर्दछु । तिनीहरूले त्यो जानिसकेपछि तिनीहरूले जाँच गरेर आफ्नो समस्याहरू समाधान गर्न सक्तछन् । म तिनीहरूलाई एउटा विधि सिकाउने कोशिस गर्दछु । प्रश्न- सरल रूपले हाम्रो मनको वास्तविक प्रकृतिलाई हेर्ने कुन विधि तपाईले सिकाउनुहुन्छ ? लामा- आधारभूत रूपमा त्यो एउटा जाँच गर्ने अभ्यास हो वा विश्लेषणात्मक बोधिज्ञान हो । प्रश्न- के त्यो कुनै प्रकारको ध्यान हो ? लामा- हो, विश्लेषणात्मक वा जाँच गर्ने ध्यान । प्रश्न- तपाईले त्यो कसरी गर्नुहुन्छ ? तपाईले कसैलाई जाँच गर्न कसरी सिकाउनुहुन्छ ? लामा- म तपाईलाई एउटा उदाहरण दिन चाहन्छु । मानिलिनुस् कसैप्रति मेरो असल अनुभूति छ । मैले आफैलाई प्रश्न गर्नुपर्दछ "मैले त्यस व्यक्तिबारे किन असल अनुभूति गर्दछु - मलाई त्यस्तो अनुभूति केले गराउँदछ -" यसरी जाँचबुझ गर्दा मैले यो पाउन सक्तछु कि उनी एकपटक मेरा लागि असल भएको कारणले हो वा त्यसमा अन्य कुनै त्यस्तो सानो अतार्किक कारण हुन सक्तछ । मलाई उसले यो वा त्यो गरिदिएको हुनाले म उनलाई माया गर्दछु ।" यदि मैले कसैप्रति खराब महसुस गरें भने त्यो पनि त्यस्तै कुरा हो उसलाई म मन पराउँदिनँ किनभने उसले मलाई यस्तो यस्तो गर्यो । तर यदि तपाईले त्यस मानिसभित्र असल वा खराब गुणको अस्तित्व छ कि छैन भनेर अझ गहिरिएर हर्ेर्नुभयो भने तपाईले यो देख्न पनि सक्नुहुनेछ कि त्यस मित्र वा शत्रुप्रतिको तपाईको विभेद अति सतही, अतार्किक कारणहरूमा आधारित छ । तपाईले आफ्नो विवेक निर्रथक गुणहरूमा आधारित गर्दै हुनुहुन्छ न कि त्यस व्यक्तिको समग्रतामा आधारित गर्दै हुनुहुन्छ । तपाईले कुनै गुण देख्नुहुन्छ र त्यसलाई असल वा खराब हो भनेर विल्ला भिराइदिनुहुन्छ । शायद त्यस व्यक्तिले केही गर्यो होला वा भन्यो होला, त्यो सानो भागलाई बढाइ चढाइ गरियो । त्यसपछि तपाईले जे बुझ्नुहुन्छ त्यसबाट विचलित हुनुहुन्छ । जाँचद्वारा तपाईले गरेजस्तो विभेदीकरण गर्नुपर्ने कुनै कारण छैन भन्ने कुरा देख्न सक्नुहुन्छ । त्यसबाट तपाई बन्धनमा पर्नुहुन्छ, कष्टमा पर्नुहुन्छ यसप्रकारको जाँचले अरू व्यक्तिलाई होइन तर तपाईको आफ्नै मनलाई विश्लेषण गर्दछ ताकि तपाईले कस्तो अनुभव गर्नुहुन्छ र त्यसप्रकारको अनुभूति कस्तो प्रकारको विभेदीकरणयुक्त मनले त्यसप्रकारको अनुभूति दिन्छ भन्ने देख्दछ । यो आधारभूत रूपले बाह्य अबयवमा बढी केन्द्रित हुने र मानवको अनुभवमा मनले खेल्ने भूमिकालाई पर्याप्त मात्रामा केन्द्रित नगर्ने पश्चिमा पद्दतिभन्दा फरक विश्लेषण हो । प्रश्न- समस्याहरू बढी मात्रामा मानिस आफूभित्र नै हुन्छन् भनेर तपाई भन्नुहुन्छ र समाजले मानिसलाई रोगी तुल्याउँछ भन्ने दृष्टिकोणमा तपाई असहमत हुनुहुन्छ हो ? लामा- हो, उदाहरणका लागि मैले अनेकौं पश्चिमेली मानिसहरू भेटेको छु ; जसको समाजसँग समस्याहरू थिए । तिनीहरू समाजसँग रिसाएका छन्, अभिभावकहरूसँग रिसाएका छन्, सबै कुरासँग रिसाएका छन् । जब उनीहरूले मैले सिकाएको मनोविज्ञान बुझ्दछन् उनीहरू सोच्दछन् "कस्तो हास्याँस्पद ! मैले जहिले पनि समाजलाई दोष दिएँ तर वास्तवमा वास्तविक समस्या त मभित्र नै रहेछ ।" त्यसपछि उनीहरू नम्र मानव हुनेछन् । समाज, परिवार, गुरुहरू र सम्पूर्ण मानिसहरूबीच आदरका पात्र हुनेछन् । प्रश्न- मानिसहरू किन त्यसप्रकारले दिग्भ्रमित हुन्छन् त ? लामा- किनभने तिनीहरूलाई आफ्नो वास्तविक प्रकृतिबारे थाहा हुँदैन । वातावरण, विचारहरूले पनि त्यसमा योगदान गरेका हुन्छन् । तर प्राथमिक रूपमा व्यक्तिको आफ्नो मनबाट नै समस्याहरू उत्पन्न हुन्छन् । केही मानिसहरूलाई समाजको साङ्गठनिक प्रणालीले अबश्य विचलित बनाउँछ तर त्यस्तो मामलाहरू प्रायजसो नगन्य हुन्छन् । दुर्भाग्यवस मानिसहरूले त्यसलाई बढाइचढाइ गर्छन् र विचलित हुन्छन् । समाजसँग कस्तो हुन्छ भन्ने कुरा यही हो तर यसविना संसारको अस्तित्व हुन्छ भन्ने कसैले सोच्छ भने त्यो एउटा सपना मात्र हो । प्रश्न- लामा, तपाईले मानिसको प्रकृतिको समुद्रमा के पाउनु हुन्छ र ? लामा- मैले त्यसो भन्नुको अर्थ मानिसहरूको समस्या एउटा सागरजस्तै हो भन्न खोजेको हुँ । तर हामीले त्यसको सतहमा भएको छालहरूलाई मात्र देख्छौं । हामीले त्यसभित्र के छ भनेर हेर्दैनौं । "ओह ! उसँग मेरो एउटा समस्या छ । यदि मैले उबाट छुटकारा पाए भने मैले मेरो समस्यालाई समाधान गर्नेछु ।" यो कुरा विद्युतीय सामग्रीहरूलाई संचालन गर्ने त्यसभित्रको विद्युत् शक्ति हो भन्ने कुरा नबुझिकन विद्युतीय सामग्रीलाई हेरेसरह हो । प्रश्न- छालहरूमुनि हामीले कस्तो प्रकारको समस्याहरू पाउँछौं ? लामा- असंतुष्टि । असन्तुष्ट मन नै मानवीय स्वभावको आधारभूत तत्व हो । हामी आफू आफैसँग असन्तुष्ट हुन्छौं, हामी बाह्य संसारसँग असन्तुष्ट हुन्छौं । ती असन्तुष्टीहरू एउटा सागरझैँ हुन्छ प्रश्न- तपाईले अकौ मानिसलाई उसको बारेमा प्रश्नहरू सोध्नुहुन्छ अथवा आफूले आफैलाई बुझ्न मद्दत गर्दा उसले कस्तो अनुभव गर्दछ ? लामा- कहिलेकाहीँ हामीहरू प्रश्नहरू सोध्दछौं तर साधारणतया हामी प्रश्न सोध्दैनौं । केही मानिसहरूको कुनै खास समस्याहरू हुन्छन् । त्यस्तो मामिलामा हामीले सरल समाधान दिन सकौं भन्ने उद्देश्यले ती समस्याहरू के हुन् भनेर जान्नु लाभदायक हुन्छ । तर साधारणतया त्यस्तो गर्न आवश्यक हुदैन । किनभने आधारभूत रूपमा सबैको समस्या उस्तै प्रकारका हुन्छन् । प्रश्न- त्यस्ता मानिसहरूसँग तिनीहरूको समस्याहरू थाहा पाउन र त्यसलाई कसरी समाधान गर्ने भन्ने सम्बन्धमा कतिबेर कुराकानी गर्नुहुन्छ ? तपाईलाई थाहै छ, पाश्चात्य मनोचिकित्सामा हामी रोगीहरूसँग उनीहरूका लागि उनीहरूको समस्याको प्रकृति पत्ता लगाउन ठूलो मात्रामा समय खर्चन्छौं । तपाईले पनि त्यस्तै गर्नुहुन्छ कि अथवा अर्कै तरिकाले गर्नुहुन्छ ? लामा- हाम्रो विधिअनुसार मानिसहरूसँग व्यक्तिगत रूपमा हामीले लामो समय बिताउन आवश्यक छैन । हामी समस्याहरूको आधारभूत प्रकृति त्यसबाट पार पाउने संभाव्यताबारे व्याख्या गर्दछौं । त्यसपछि हामी समस्याहरूलाई हटाउने आधारभूत तरिकाहरू सिकाउँछौं । उनीहरू ती तरिकाहरू अभ्यास गर्छन् । केही समयपछि हामी उनीहरूको अनुभव के रह्यो भनेर जाँच गर्दछौं । प्रश्न- तपाईले भनेअनुसार आधारभूत रूपमा सबैको समस्या उस्तै हुन्छ त ? लामा- हो, पूर्वीय होस् वा पाश्चात्य, आधारभूत रूपमा एउटै कुरा हो । तर पश्चिमी मुलुकहरूमा मानिसहरूलाई तपाईले बिरामी हो भनेर भन्नुभन्दा पहिले ऊ रोगशय्याको बिरामी हुनु आवश्यक छ । हाम्रा लागि त्यो अति नै सतही कुरा हो । भगवान् बुद्धको मनोविज्ञान र लामाको अनुभवअनुसार कुनै रोग रोगको लक्षण हरूको बढाइ चढाइ गरिएको अभिव्यक्तिभन्दा गहन रूपमा जान्छ । असन्तुष्टिका सागर तपाईभित्र रहेसम्म वातावरणमा हुने सूक्ष्मतम परिवर्तन पनि तपाईका लागि समस्या उत्पन्न गराउन पर्याप्त हुन्छ । जहाँसम्म हाम्रो सोचाइ छ, भविष्यका समस्याहरूबारे शंसयात्मक हुनुको मतलव पनि तपाईको मन स्वस्थ्य छैन भन्ने हो । हामीमध्येका सबैजना हाम्रो मन असन्तुष्ट रहेको सम्बन्धमा आधारभूत रूपमा एकै छौं । फलस्वरूप हाम्रो बाह्य परिस्थितिहरूमा हुने एउटा सूक्ष्मतम परिवर्तनले पनि हामीलाई रोगी बनाउँदछ । किन - किनभने आधारभूत समस्या हाम्रो मनभित्र छ । सतही भावनात्मक समस्याहरूलाई समाधान गरेर हाम्रो सम्पूर्ण समय खर्चनुभन्दा आधारभूत समस्याहरू निर्मूल पार्नु अति नै महत्त्वपूर्ण छ । यस विधिले हाम्रो समस्याहरूको अनुभवको निरन्तरतालाई रोक्ने होइन । यसले हामीले भर्खरै समाधान गर्यौं भन्ने ठानेको समस्यालाई नयाँ समस्याले बदल्ने काम मात्र गर्दछ । प्रश्न- मेरो आधारभूत समस्या र अरू कसैको आधारभूत समस्या एकै हो र ? लामा- हो, सबैको आधारभूत समस्या हामीले भन्ने गरेको अज्ञानता हो । असन्तुष्ट मनको स्वभावलाई नबुझ्नु हो । त्यस्तो मन तपाईसँग भएसम्म तपाई अरू सबै चढेको एउटै नाउमाथि नै हुनुहुन्छ । वास्तविकतालाई नदेख्ने त्यो असक्षमता कुनै पाश्चात्य समस्या मात्र होइन र पर्ुर्वीय समस्या पनि होइन । त्यो एउटा मानवीय समस्या हो । प्रश्न- आधारभूत समस्या आफ्नो मनको स्वभावबारे नजान्नु नै हो लामा- हो, ठिक हो । प्रश्न- र सबैको मनको स्वभाव एकै प्रकारको हुन्छ ? लामा- हो, एकै प्रकारको हुन्छ । प्रश्न- प्रत्येक व्यक्तिको आधारमूत समस्या एकै प्रकारको हुन्छ त ? लामा- हो, तर भिन्नताहरू हुन्छन् । उदाहरणका लागि एकसय वर्षगाडि पाश्चात्य मुलुकका मानिसहरूका निश्चित प्रकारका समस्याहरू थिए । मुख्यतया प्राविधिक विकासद्वारा तिनीहरूले त्यसमध्येका धेरैको समाधान निकाले । तर तिनीहरूको बदलामा विभिन्न समस्याहरू उत्पन्न भएका छन् । मैले भनेको त्यही हो । नयाँ समस्याहरूले पुराना समस्याहरूलाई विस्थापन गर्छ तर यद्यपि तिनीहरू समस्याहरू नै हुन किन कि आधारभूत समस्या बाँकी नै रहन्छ । आधारभूत समस्याहरू एउटा सागर जस्तै हो; हामीले समाधान गर्न खोजेको समस्या त एउटा छाल मात्र हो । पर्ूर्वीय मुलुकहरूमा पनि त्यस्तै हुन्छ । भारतमा ग्रामिण क्षेत्रमा बस्ने मानिसहरूले अनुभव गर्ने समस्या राजधानी नयाँ दिल्लीमा बस्ने मानिसहरूले अनुभव गर्ने समस्याहरूभन्दा फरक हुन्छ तर ती यद्यपि समस्याहरू नै हुन् । पूर्वीय होस् या पाश्चात्य होस् आधारभूत रूपमा समस्याहरू एकै हुन् । प्रश्न- लामा, मैले बुझेअनुसार आधारभूत समस्या मानिसहरूले आफ्नो स्वभावसँग सर्म्पर्क विच्छेद गर्नु हो भनेर तपाईले भन्नुभयो । हामीले हाम्रो स्वभावसँग सर्म्पर्क कसरी टुटाउँछौं ? त्यस्तो किन हुन्छ ? लामा- त्यसको एउटा कारण के हो भने हामी आफूबाहिर के भइराखेको छ भन्ने कुरामा नै दत्तचित्त हुन्छौं । चेतना संसारमा के भइराखेको छ भन्ने कुरामा हामीले यत्ति धेरै चाख लिन्छौं कि हामीले हाम्रो मनभित्र के भइरहेको छ भनेर जाँचेर हर्ेर्ने समय खर्चदैनौं । हामी आफूले कहिल्यै पनि चेतनाको संसार किन त्यति धेरै चाखलाग्दो छ, वस्तुहरू किन त्यस्तै गरेर देखा पर्दछन्, हामीले तिनीहरूप्रति किन त्यस्तो गरेर प्रतिक्रिया गर्र्छौं भनेर सोच्दैनौं । हामीले बाह्य संसारलाई वेवास्ता गर्नुपर्दछ भनेर मैले भनेको होइनँ । तर हामीले कम्तीमा पनि त्यत्तिकै समय त्यससँगको हाम्रो सम्बन्ध विश्लेषण गर्नलाई हाम्रो शक्ति खर्चनु पर्दछ । हामीले यदि वस्तु र विषय दुवैको प्रकृति बुझ्यौं भने त्यसपछि हामीले वास्तवमा नै हाम्रो समस्याहरूको अन्त्य गर्न सक्तछौं । तपाईलाई भौतिक वस्तुको आधारमा तपाईको जीवन ठिक छ भन्ने लाग्न सक्तछ तर पनि तपाईले आफैलाई सोध्नु पर्छ "के यसले मलाई वास्तवमा नै सन्तुष्टि दिन्छ - के त्यसमा भएको त्यो मात्र हो ?" तपाईले आफ्नो मनलाई जाँच गर्न सक्नुहुन्छ । "सन्तुष्टि वास्तवमा कहाँबाट आउँछ ?" यदि तपाईले सन्तुष्टि बाह्य भौतिक वस्तुहरूमा मात्र भर पर्दैन भन्ने बुझ्न सक्नुहुन्छ भने तपाईले भौतिक सम्पत्ति र मनको शान्ति दुवै उपभोग गर्न सक्नुहुन्छ । प्रश्न- प्रत्येक मानिसको सन्तुष्टिको प्रकृति फरक हुन्छ ? वा साधारण मानिसहरूका लागि के त्यो एकै हो ?लामा- सापेक्ष रूपमा भन्नुपर्दा प्रत्येक व्यक्तिको आपनै प्रकारको सोच्ने अनुभव गर्ने र विभेद गर्ने तरिका हुन्छ । त्यसकारणले प्रत्येक मानिसको उपभोग सापेक्षरूपमा व्यक्तिगत कुरा हो । तर यदि तपाईले अझ गहिरिएर हर्ेर्नुभयो भने, तपाईले गहन, अपरिवर्तनीय, अनुभवको अझ खप्ने तहलाई, सुख र आनन्दलाई यदि हेर्नुभयो भने तपाईले देख्नुहुनेछ कि सबैले एकै प्रकारको सुखको स्तर प्राप्त गर्न सक्तछन् । सापेक्ष सांसारिक विश्वमा हामी सोच्छौं "मेरो चाख र आनन्द यस्तो यस्तो हो, त्यसकारण मसँग यो, यो र यो हुनुपर्छ । यदि मैले आफूलाई यस्तो यस्तो परिस्थितिमा पाएँ भने म दुखी हुनेछु ।" सापेक्षरूपमा हाम्रा अनुभवहरू व्यक्तिगत हुन्छन्; हामी सबैले आपनै तरिकाले विभेद गर्र्छौं । तर निरपेक्षरूपमा, हामीले एकैप्रकारको सुखको स्तर अनुभव गर्दछौं । प्रश्न- लामा तपाईले मानिसहरूको समस्याहरूको समाधान ध्यानमा पन्छिन लगाएर वा बाह्य संसारबाट अलग रहेर गर्नुहुन्छ ? तपाईले मानिसहरूको उपचार गर्ने विधि त्यही हो र ? लामा- कुनै आवश्यक छैन । मानिसहरू तिनीहरूको मनभित्र के भइरहेको छ र उनीहरूको मनले कसरी बाह्य संसारसँग सम्बन्ध गाँस्दैछ, तिनीहरूको मनमा वातावरणले के असर पर्दैछ भन्ने जस्ता दुवै कुराहरूबारे पूर्णरूपले सावधान हुनुपर्छ । तपाईले संसारबाट आफ्नो जीवनलाई बन्द राख्न सक्नुहुन्न; तपाईले त्यसको सामना गर्नुपर्छ । तपाई सबै कुराका लागि खुला हुनुपर्छ । प्रश्न- तपाई त्यस्तो उपचारमा सधैँ सफल नै हुनुहुन्छ कि ? लामा- सफल नै हुन्छ भन्ने कुनै जरुरी छैन । प्रश्न- निश्चित मामिलाहरूमा केले त्यसलाई असफल बनाउँछ ? लामा- कहिलेकाहीँ सञ्चारको समस्या हुन्छ; मैले भनेका कुराहरू मानिसहरूले गलत रूपले बुझ्छन् । शायद मैले दिएका विधिहरूलाई कार्यमा परिणत गर्न मानिसहरूमा धैर्यता नभएर होला । असन्तुष्ट मनलाई उपचार गर्न समय लाग्छ । मन परिवर्तन गर्नु एउटा घरलाई रङ लगाउन जत्तिको सजिलो हुदैन । तपाईले एउटा घरको रङ एक घण्टामा बदल्न सक्नुहुन्छ । मनलाई परिवर्तन गर्न त्योभन्दा धेरै समय लाग्छ । प्रश्न- तपाईले कस्तो प्रकारको समयबारे कुरा गर्दै हुनुहुन्छ ? महिना ? वर्ष ? लामा- त्यो कुरा व्यक्ति र हामीले चर्चा गरेको समस्याको प्रकारमा भर पर्छ । यदि तपाई अफ्नो अभिभावकसँग समस्यामा हुनुहुन्छ भने तपाईले त्यो एक महिना जत्तिमा समाधान गर्न पनि सक्नुहुन्छ । तर आधारभूतरूपले असन्तुष्ट मनलाई पराजित गरेर परिवर्तन गर्न कैयौं वर्षलाग्न सक्छ । छालहरू सजिला हुन्छन् तर समुद्र अझ बढी कठिन हुन्छ । धन्यवाद ! त्यो एउटा असल प्रश्न थियो । प्रश्न- तपाई आफूले सहायता गर्न प्रयास गर्ने मानिसहरूको छनौट गर्ने कुनै प्रक्रिया छ कि ? लामा- छैन । छनोटका लागि कुनै प्रक्रिया छैन । प्रश्न- मानिसहरू त्यत्तिकै तपाईकहाँ आउँछन् ? लामा- हो । जो सुकै पनि आउन सक्छन् । जुनसुकै वर्ण, जात, वर्ग वा लिङ्गका सम्पूर्ण मानवहरूको अफ्नो समस्या समाधान गर्ने एकै प्रकारको क्षमता हुन्छ । मानव ज्ञानले समाधान गर्न नसक्ने कुनै समस्या छैन । यदि तपाई ज्ञानी हुनुहुन्छ भने तपाईले ती सबैलाई समाधान गर्न सक्नुहुन्छ । प्रश्न- अज्ञानी मानिसहरूबारे के भन्नुहुन्छ ? लामा- त्यसोभए तपाईले मानिसहरूलाई कसरी ज्ञानी हुने भनेर सिकाउनु पर्छ । ज्ञान सहजरूपमा उपलब्ध हुने कुरा होइन । तपाईले मानिसको मन त्यसका लागि खोलिदिनु पर्छ । प्रश्न- तपाईले बच्चाहरूलाई त्यसप्रकारले समस्या समाधान गर्न सहायता गर्न सक्नुहुन्छ ? लामा- त्यो निश्चय पनि सम्भव छ । तर तपाईले बच्चाहरूलाई बौद्धिक बनाउन सक्नुहुन्न । कहिलेकाहीँ तपाईले तिनीहरूलाई चित्रकला वा तपाईको कार्यहरूद्वारा देखाउनु पर्छ । कहिलेकाहीँ तिनीहरूलाई यो गर त्यो गर भनेर भन्नु त्यति विद्वता ठहरिँदैन । प्रश्न- लामा, तपाईले बच्चाहरूलाई तिनीहरूको मनको भित्री स्वभावबारे जान्नका लागि सहायता गर्ने अभिभावकहरूलाई कस्तो प्रकारको सल्लाह दिनुहुन्छ ? लामा- तिनीहरूलाई शब्दहरूद्वारा बौद्धिक वनाउनु नखोज्नु असल हुन्छ भनेर शायद र्सवप्रथम म भन्छु । सही कार्य गर्नु र शान्त वातावरण सिर्जना गरेबाट प्रभावकारी हुने सम्भावना बढी हुन्छ । यदि तपाईले त्यसो गर्नुभयो भने बच्चाहरूले स्वतः सिक्नेछन् । एउटा सानो बच्चाले पनि कम्पन (vibration) लाई बुझ्दछ । मलाई सम्झना छ, म सानो छँदा मेरा अभिभावकहरूले वादविवाद गर्दा मैले भयानक अनुभव गर्दथें । त्यो कष्टदायी थियो । तपाईले बच्चाहरूलाई धेरै भन्नु पर्दैन बरु उचित, शान्त र भद्र व्यवहार गर्नु पर्छ र एउटा असल वातावरण सिर्जना गर्नु पर्छ । बस, विशेष गरेर उनीहरू भाषा बुझ्ने नभएसम्म । प्रश्न- मानव सुखका लागि शरीर कतिको महत्त्वपूर्ण छ ? लामा- यदि तपाई खुसी रहन चाहनुहुन्छ भने तपाईको शारीरिक स्नायु प्रणाली (Nervous System) र मनको नजिकको सम्बन्धका कारण तपाईको स्नायु प्रणालीमा हुन गएको अबरोधले तपाईको मनमा अबरोध पुग्छ; तपाईको शरीरमा भएको परिवर्तनले तपाईको मनमा परिवर्तन ल्याउँछ । ती दुइबीच एउटा बलियो सम्बन्ध छ । प्रश्न- शरीर स्वस्थ्य राख्नका लागि खाना र यौन व्यवहारको सम्बन्धमा तपाईको कुनै सल्लाह छ कि ? लामा- दुवै महत्त्वपूर्ण हुन सक्तछन् । हामी सबै फरक भएकाले तपाईले एकै प्रकारको खानाले सबैलाई हुन्छ भनेर भन्न अबश्य सक्नुहुन्न । व्यक्तिको रूपमा हाम्रो शरीर कुनै खास खानाहरूसँग अभ्यस्त हुन्छ । त्यसैले खानामा मुलभूत परिवर्तनले हाम्रो प्रणालीलाई स्तब्ध तुल्याउन सक्तछ । अधिक यौन क्रियाले हाम्रो शरीरलाई कमजोर तुल्याउन सक्छ । त्यसको फलस्वरूप हाम्रो मनको एकाग्रता शक्ति वा मर्मभेदी प्रज्ञालाई कमजोर तुल्याउन सक्छ । प्रश्न- अधिक भनेको कति हो ? लामा- फेरि त्यो व्यक्तिमा भर पर्दछ । सबैका लागि एकै हुदैन । प्रत्येक व्यक्तिको शारीरिक क्षमता भिन्न हुन्छ । त्यसलाई आफ्नो अनुभवद्वारा जाँच गर्नुहोस् । प्रश्न- हामी यहाँ किन छौँ ? हामीले जिउनुको कारण के हो ? लामा- चेतनाको संसारमा लिप्त रहेसम्म हामी हाम्रो शरीरसँग लिप्त हुन्छौं । त्यसैले हामीले त्यसभित्र जिउनु पर्छ । प्रश्न- तर म कहाँ जाँदैछु ? के मैले कतै जानु पर्छ ? लामा- हो, अबश्य तपाईका लागि कुनै विकल्प छैन । तपाई अस्थायी हो त्यसकारण तपाईले जानु पर्छ । तपाईको शरीर चारवटा निरन्तर परिवर्तन भइरहने तत्वहरू माटो, पानी, हावा र आगोद्वारा निर्मित छ । जबसम्म यी चारवटा तत्वहरू सन्तुलनमा हुन्छन्, तपाई उचित तरिकाले बढ्नुहुन्छ र तपाई स्वस्थ्य हुनुहुन्छ । तर यदि त्यसमध्येका एउटा अरूसँगको सन्तुलनबाट बाहिर जानासाथ शरीरमा गडबड उत्पन्न हुन्छ र तपाईको जीवन समाप्त हुन्छ । प्रश्न- अनि त्यसपछि के हुन्छ - के हाम्रो पर्ुनर्जन्म हुन्छ ? लामा- हो, हाम्रो पुनर्जन्म हुन्छ । तपाईको मन वा चेतना तपाईको भौतिक शरीर, रगत र मासुभन्दा फरक छ । जब तपाईको मृत्यु हुन्छ, तपाईले अफ्नो शरीरलाई पछाडि छाड्नुहुन्छ र तपाईको मन (चेतना) नयाँ शरीरमा जान्छ । सुरुवातविहीन समयदेखि हामी मरिरहेका छौं र एकपछि अर्को फरक फरक शरीरमा जन्म लिइरहेका छौं । हामीले बुझेको कुरा त्यही हो । भगवान् बुद्धको मनोविज्ञानले यो सिकाउँछ कि सापेक्ष स्तरमा मनको चारित्रिक स्वभाव भौतिक शरीरको भन्दा धेरै फरक छ । प्रश्न- हामी निरन्तर रूपले आफूलाई सुधार्नका लागि बाँच्छौ ? जब तपाई बूढो मानिस हुनुहुन्छ, तपाई अहिलेभन्दा असल हुनुहुनेछ कि ? लामा- तपाई त्यसबारे कहिले पनि निश्चित हुन सक्नुहुन्न । कहिलेकाहीँ बूढा मानिसहरू बच्चाहरूभन्दा खराब हुन्छन् । त्यो तपाईमा कति ज्ञान छ भन्ने कुरामा भर पर्दछ । केही बच्चाहरू जवानहरूभन्दा विद्वान् हुन्छन् । तपाईले आफ्नो जीवनमा त्यस्तो प्रकारको विकास गर्न ज्ञानको आवश्यकता हुन्छ । प्रश्न- यदि तपाईले यो जीवनमा आफू स्वयंलाई राम्ररी बुझ्नुभयोभने के तपाईले अर्को जीवनमा सुधार गर्न सक्नुहुन्छ ? लामा- निश्चय नै सकिन्छ । यस जीवनमा तपाईले जति बढी आफ्नो मनको स्वभावलाई बुझ्नुहुन्छ त्यत्ति नै असल तपाईको अर्को जीवन हुन्छ । यस जीवनमै पनि आज यदि तपाईले आफ्नो स्वभावलाई राम्ररी बुझ्नुहुन्छ भने अर्को महिना तपाईका अनुभवहरू असल हुन्छन् । प्रश्न- लामा, निर्वाण (Nirvana) भनेको के हो ? लामा- निर्वाण एउटा संस्कृत शब्द हो । त्यसको अर्थ स्वतन्त्रता वा मुक्ति हो । भित्री मुक्ति हो । त्यसको अर्थ तपाईको हृदय अनियन्त्रित, अपराजित र असन्तुष्ट मन, अनुरागको बन्धनमा परेको जस्ता अबस्थाबाट मुक्त भएको अबस्था हो । जब तपाईले आफ्नो मनको परम स्वभाव साक्षात्कार गर्नुहुन्छ, तपाई सारा वन्धनबाट आफैलाई मुक्त पार्नुहुन्छ र चेतनाको संसारमा भर नपरी सुख प्राप्त गर्न सक्नुहुन्छ । हाम्रो मन अहम्भावको अबधारणाको कारण बन्धनमा परेको हुन्छ ती बन्धनहरूलाई खुकुलो पार्नका लागि हामीले आफ्नो अहम्लाई त्याग गर्नु पर्दछ । अहम्लाई त्याग गर्नु भन्ने कुरा तपाईका लागि अचम्मको कुरा हुन सक्छ । यो पश्चिमी मुलुकहरूमा निश्चय पनि हामीले चर्चा गर्ने विषय होइन । त्यस विपरीत यहाँ हामीलाई आफ्नो अहम् निर्माण गर्न सिकाइएको हुन्छ । यदि तपाईसँग बलियो "अहम्" छैन भने तपाई कहीं पनि रहनुहुने छैन । तपाई मानव होइन । तपाई कमजोर हुनुहुन्छ । यो समाजको दृष्टिकोण हो झैँ लाग्छ । जे होस्, बौद्ध मनोविज्ञानको दृष्टिकोणबाट अहम्को हाम्रो अबधारणा नै सबैभन्दा ठूलो समस्या हो, समस्याहरूको राजा हो; अन्य भावनाहरू मन्त्रीहरूझैँ हुन् । 'अहम्' राजा हो । जब तपाई अहम्भन्दा टाढा पुग्नुहुन्छ, भ्रमका अन्य मन्त्रीमण्डल लोप भएर जान्छ । विचलित तथा बन्धनयुक्त मन बिलाएर जान्छ र तपाईले सदाका लागि मनको परम सुखको अबस्था प्राप्त गर्नुहुन्छ । हामीले निर्वाण, भित्री स्वतन्त्रता भनेकेा त्यही नै हो । तपाईको मन अब अनुकूलित हँुदैन अहिलेको जस्तो अन्य कुरामा बाँधिएको हुँदैन । अहिले हाम्रो मन अरू घटनाहरूमाथि भर परेकोले जब ती अन्य घटनाहरू चल्छन्, तिनीहरूले आफूसँगै हाम्रो मनलाई लैजान्छ । त्यसमाथि हाम्रो नियन्त्रण नै हुदैन । हाम्रो मनलाई नाक छेडेर डोर्याइएको जनावरलाईझैँ गरेर डोर्याइन्छ । हामी स्वतन्त्र छैनौं; हामी अरूमाथि भर नपरेका छैनौं । हामी आफूलाई स्वतन्त्र अबश्य संझन्छौं । हामी अरूमाथि भर नपरेको सम्झन्छौं तर हामी त्यस्तो छैनौं । हामी भित्री रूपमा स्वतन्त्र छैनौं । जब जब अनियन्त्रित मन जागरुक हुन्छ, हामी कष्टमा पर्र्छौं । त्यसकारण, स्वतन्त्रता भनेको अरू अबस्थाहरूमाथि भर पर्नुबाट मुक्त हुनु र हाम्रो स्वाभाविक जीवनमा उतारचढावको बदला स्थिर चिरस्थायी परम सुखको अनुभव हो । त्यो नै निर्वाण हो । यो निर्वाण वारेको अबश्य नै छोटकरीमा वर्णन हो; हामी त्यसबारे घण्टौंसम्म चर्चा गर्न सक्छौं तर अहिले होइन । तापनि यदि तपाईले भित्री स्वतन्त्रताको स्वभाव बुझ्नुभयो भने तपाईले चेतनाबाट प्राप्त हुने अस्थायी, क्षणभङ्गुर आनन्दको पूर्णताको नजिक कहीँ पनि छैन भन्ने महसुस गर्नुहुनेछ । तिनीहरू र्सवाधिक महत्त्वका कुरा होइनन् भन्ने महसुस गर्नुहुनेछ । तपाईले एउटा मानवका रूपमा तपाईसँग स्थायी अबस्थाको, चिरकालीन, विनाशर्तको सुख प्राप्त गर्ने क्षमता र विधि आफूसँग भएको महसुस गर्नुहुनेछ । त्यसले तपाईको जीवनमा तपाईको जीवनलाई नयाँ आयाम दिनेछ । प्रश्न- बौद्ध मनोविज्ञानको विधिहरूले एउटा व्यक्तिलाई चिरस्थायी सुख प्राप्त गर्न सफलता पाउने असल अबसरहरू दिन्छ भनेर तपाईले किन सोच्नुहुन्छ - जब कि अन्य विधिहरूमा त्यसो गर्नलाई ठूलो समस्या हुन सक्छ र कहिलेकाहीँ त्यसबाट कहिल्यै परिणाम निस्कँदैन । लामा- बौद्ध विधिहरूले काम गर्ने भएकाले अन्य विधिहरू चाहिदैन भनेर मैले भनेको छैनँ । मानिसहरू फरक फरक प्रकारका हुन्छन् । व्यक्तिगत समस्याहरूलाई व्यक्तिगत समाधान चाहिन्छ । एउटा विधिले सबैका लागि काम गर्छ नै भन्ने छैन । पश्चिमी मुलुकहरूमा सबै मानवीय समस्याहरूलाई क्रिश्चियन धर्मले समाधान निकाल्छ, त्यसैले हामीलाई मनोविज्ञान वा हिन्दर्ुधर्म वा अन्य कुनै दर्शन चाहिँदैन भनेर तपाईले भन्न सक्नुहुन्न । त्यो गलत हो । हामीलाई विभिन्न प्रकारका विधिहरू आवश्यक हुन्छन् किनकि विभिन्न फरक प्रकारका व्यक्तिहरूको फरक प्रकारको व्यक्तित्व हुन्छ र फरक प्रकारको भावनात्मक समस्याहरू हुन्छन् । तर कुनै पनि विधिमा हामीले सोध्नुपर्ने वास्तविक प्रश्न के हो भने के त्यो विधिले वास्तविक रूपले मानव समस्याहरूलाई सदाका लागि रोक्न सक्छ - वास्तवमा भगवान् बुद्ध स्वयंले पनि ठूलो संख्यामा असिमित प्रकारका विभिन्न समस्याहरूका लागि विभिन्न फरक प्रकारका मनोवैज्ञानिक उपचारहरू सिकाउनुभएको थियो । केही मानिसहरू बुर्द्धधर्म एउटा सानो विषय हो भन्ने सोच्छन् । वास्तवमा भगवान् बुद्धले अरबौंको संख्यामा मानिसहरूले सामना गर्ने असिमित समस्याहरूको समाधानहरू दिनुभएको छ । त्यो प्रत्येक व्यक्तिका लागि निजी समाधान दिएको जत्तिकै थियो । सबै समस्याहरूको एकमात्र समाधान हुन्छ भनेर बुर्द्धधर्मले कहिल्यै भन्दैन । कल्पना गर्न सकिने सम्पूर्ण मानवीय समस्याहरूका लागि भगवान् बुद्धले पत्याइ नसक्नुको संख्यामा समस्याहरूको विभिन्न समाधानहरू दिनुभएको थियो । कुनै खास समस्यालाई सम्पूर्णरूपले एकैपटक समाधान गरिएको पनि छैन । केही समस्याहरूलाई विस्तारै क्रमशः पराजित गर्न सकिन्छ । बौद्ध विधिहरूले यसलाई पनि लिन्छ । त्यसैले हामीलाई विभिन्न विधिहरूको आवश्यकता हुन्छ । प्रश्न- कहिलेकाहीँ हामीले अधिक रूपमा विचलित भएका रोगीहरू देख्छौं, जसलाई विभिन्न प्रकारका औषधिहरूको ठूलो मात्रा सेवन गर्नु पर्छ वा तिनीहरूसँग कुराकानी गर्नलाई समेत धेरै लामो समयसम्म पर्खनु पर्ने हुन्छ । बौद्धिक कुराकानी गर्न समेत नसकिने कसैको उपचार कसरी गर्नुहुन्छ र ? लामा- सुरुमा हामीले विस्तारै विस्तारै उसको विश्वास जित्नका लागि उसँग साथी बन्ने प्रयास गर्र्छौं । त्यसपछि उनीहरूको अबस्थामा सुधार आएपछि हामी कुराकानी गर्न सुरु गर्दछौं । यसले संधै काम गर्छ नै भन्ने अबश्य होइन । त्यसका लागि वातावरण पनि महत्त्वपूर्ण हुन्छ -गाउँमा एउटा शान्त घर, शान्त वातावरणयुक्त स्थान, उचित तस्वीरहरू, उपचारात्मक रङहरू इत्यादि प्रकारका बस्तुहरू । त्यो अबश्य कठिन छ । प्रश्न- केही पाश्चात्य मनोवैज्ञानिकहरू यो विश्वास गर्छन् कि केही मात्रामा लडाकुपन मानव प्रवृत्तिको महत्त्वपूर्ण तथा आवश्यक भाग हो । लडाकुपन एउटा सकारात्मक चालक शक्ति(Driving Force) हो । यद्यपि यसबाट मानिसहरू कहिलेकाहीँ समस्यामा पर्छन् । क्रोध र लडाकुपनबारे तपाईको दृष्टिकोण कस्तो छ ? लामा- म मानिसहरूलाई आफ्नो क्रोध व्यक्त नगर्न प्रोत्साहन दिन्छु । त्यसलाई बाहिर निस्कन नदिन प्रोत्साहन गर्छु त्यसको बदला, म मानिसलाई आफू किन क्रोधी भइन्छ, त्यसको कारण के हो र त्यो कसरी उत्पन्न हुन्छ भनेर बुझ्ने कोशिस गर्न लगाउँछु । जब तपाईले ती कुराहरू महसुस गर्नुहुन्छ, बाहिरी रूपमा प्रकट गर्नुको बदला तपाईको क्रोधले त्यसैलाई पचाउँछ । पश्चिमी मुलुकहरूमा केही मानिसहरू क्रोधलाई व्यक्त गर्दा त्यसबाट छुटकारा पाइन्छ भन्ने विश्वास गर्छन्, त्यसलाई बाहिर निकाल्दा त्यसको अन्त्य हुन्छ भन्ने विश्वास गर्छन् । तर वास्तवमा त्यस्तो मामिलामा के हुन्छ भने तिनीहरूले फेरि क्रोधी हुनलाई आफ्नो मनमा छाप छाड्छन् । त्यसको असर उनीहरूको विश्वासको ठिक विपरीत हुन्छ । तपाईको रिस भागेको जस्तो देखिए पनि वास्तवमा तपाई आफ्नो मनमा अझबढी रिस संकलन गर्दै हुनुहुन्छ । तपाईको चेतनामा रिसले छाडेको छापले साधारणरूपले परिस्थितिहरूलाई अझ बढी क्रोधित भएर प्रस्तुत हुने प्रवृत्तिलाई सशक्तीकरण मात्र गर्छ । तर त्यसलाई बाहिर आउन नदिनुको मतलब त्यसलाई तपाईले दबाएर राखेको अबश्य हुँदैन । त्यो पनि खतरनाक हुन्छ । तपाईले क्रोध, लडाकुपन, चिन्ता वा तपाईका लागि समस्या उत्पन्न गराउने जे सुकैको प्रकृतिलाई गहिराइबाट जाँचबुझ गर्न सिक्नर्ुपर्छ । तपाईले नकारात्मक उर्जाको प्रकृतिको गहिराइसम्म हेरेपछि तपाईले त्यो केवल अबास्तविक भएको पाउनु हुन्छ । त्यो केवल मन मात्र भएको पाउनु हुन्छ । तपाईको मानसिक अभिव्यक्ति परिवर्तन हँदा नकारात्मक उर्जा लोप भएर जान्छ । घृणा, क्रोध, लडाकुपन इत्यादिको प्रवृत्तिलाई चिन्ने ज्ञानले त्यसलाई पचाउँछ । प्रश्न- क्रोधको प्रथम क्षण कहाँबाट आउँछ - एकपछि अर्को गर्दै छापहरू छोडिएको क्रोधबाट नै हो कि ? लामा- क्रोध चेतनाको आनन्दमा लिप्त भएबाट आउँछ । जाँच गर्नुहोस् । यो कस्तो गजबको मनोविज्ञान छ तर त्यो बुझ्न कठिन पनि हुन सक्तछ । तपाई लिप्त भएको वस्तुलाई जब कसैले छुन्छ तपाईमा अनौठो वा भक्कड स्वभाव उत्पन्न हुन्छ । कुनै वस्तुमा लिप्त हुनु नै क्रोधको स्रोत हो । प्रश्न- लामा तपाईले यहाँ आएर हामीलाई भेट्नुभएकोमा धेरै धेरै धन्यवाद ! यो अति नै चाखलाग्दो भेट भयो । लामा- धेरै धेरै धन्यवाद ! तपाईहरूलाई भेटन पाउँदा मलाई ज्यादै खुसी लाग्यो । प्रिन्सहेन्रिज् हस्पिटल
यो वेभ साईट मुकेश
लामा लो द्वारा २५ जनवरी सन् २००२ देखि विश्व भरि छरीएर रहेका तामाङहरुका
लागि परिकल्पना विन्यास तथा प्रवर्ध्दन गरिएको स्वतन्त्र वेभ साईट हो ।
P.O.Box 13779, Kathmandu,
Nepal
|
|||