बज्रगुरु मन्त्रोच्चारणका फाइदाहरू ।।  ओ म नि पद मे हँ को अर्थ ।। विपश्यना ध्यान के हो ? ।। भद्रचरी प्रणिधान
बज्रयानबारे प्रवचन तथा प्रश्नोत्तर ।। दोमाङमा के छ ? ।। बुद्धधर्मद्वारा आफनो पहिचान ।।
अन्वेषणको पथ धर्म ।। बौद्ध मनोविज्ञान एक झलक ।। तपाईको मन नै तपाईको धर्म हो ।।
मानसिक रोगबारे बौद्ध धारणा ।। सवै कुराहरु मनबाट नै उत्पन्न  ।।  आफनो मनलाई सागर झै बनाउनुहोस् ।।
बौद्ध ग्रन्थहरू नेपाली भाषामा ।। बोधिसत्वका सैतिस चर्याहरू

तामाङलाई रगतको आवश्यकता परे
बुद्ध धर्मवारे जानकारी बढाऔ
तामाङ भाषा सिकौं
तामाङ भाषाका कथा कविता लेखहरू
तामाङ भाषाका रेडियो कार्यक्रमहरू
तामाङ भाषाका प्रकाशनहरू
तामाङ भाषाका गीतहरू
तामाङ भाषाका चलचित्रहरू
तामाङ भाषाका खबरपत्रिकाहरू
तामाङहरूसँग सम्बन्धित समाचारहरू
तामाङ जनसंख्या कहाँ कति ?
बनेल बर्ष (फाग् ल्हो) र तपाईँ
तामाङ व्यक्तित्वहरूबारे चिनारी
तामाङ व्यक्तित्वहरूसँग अन्तरवार्ता
तामाङहरूसँग ईमेल मित्रता
तामाङ चाडपर्वहरू
तामाङ संगठनहरू
तामाङका थरहरू
तामाङहरू को कहाँ ?
वैवाहिक सम्बन्धको लागि
जन्म मिति र लो,खाम
ल्होसार कसरी मनाउने


 

 

लामा येसे

बौद्ध मनोविज्ञानका झलकहरू

अनुवादक मुकेश लामा

 

बौर्द्धधर्मको अध्ययन कुनै निरस बौद्धिक कार्य वा कुनै धार्मिक, दार्शनिक विचारको संशयात्मक विश्लेषण होइन । त्यसको ठीक विपरीत जब तपाई धर्म अध्ययन गरेर ध्यान कसरी गर्ने भन्नेबारे सिक्नुहुन्छ, तपाई आफू नै मुख्य विषय हुनुहुन्छ । मुख्य गरेर तपाई आफू स्वयंको वास्तविक मन, आफू स्वयंको वास्तविक प्रकृतिबारे रुचि लिनुहुन्छ ।

बुर्द्धधर्म दुःखबाट सुख प्राप्त गर्नका लागि एउटा अनुशासनहीन मनलाई नियन्त्रण गर्ने पद्दति हो । अहिले हामी सबैको मन अनुशासनहीन छ । तर हामीले यसको विशेषतायुक्त प्रकृतिलाई ठीकसँग बुझेर त्यसलाई विकास गर्‍यौं भने त्यसमाथि नियन्त्रण प्राकृतिक रूपले आउँदछ र हामीले भावनात्मक अज्ञानताहरू र त्यसले स्वत ल्याउने दुःखबाट मुक्त हुन्छौं । त्यसकारणले तपाई विश्वास गर्ने वा नगर्ने, धार्मिक वा अधार्मिक, क्रिश्चियन, हिन्दु वा वैज्ञानिक, काला वा गोरा, पूर्वीय वा पश्चिमा जे भए पनि थाहा पाउनु पर्ने सबैभन्दा महत्त्वपूर्ण  कुरा तपाई आफू स्वयंको मन र यसले कसरी कार्य गर्दछ भन्ने हो ।

यदि तपाईले आफ्नै मनलाई चिन्नुभएन भने तपाईको भ्रमले तपाईलाई वास्तविकतालाई देख्नबाट रोक्दछ । तपाईले आफू यो वा त्यो धर्मको अभ्यासकर्ता भएको भने पनि यदि तपाईले गहिरो गरेर अन्वेषण गर्नुभयो भने तपाईले आफू कतै पनि नभएको पनि पाउन सक्नुहुनेछ । सावधान हुनुहोस् । कुनै पनि धर्म तपाईले आफ्नै प्रकृतिबारे जान्ने कुराको विरुद्धमा छैन । तर धार्मिक मानिसहरू पटक पटक गरेर आफूलाई तिनीहरूको धर्मको इतिहास, दर्शन वा विचारमा बढीमात्रामा सोच्दछन् र तिनीहरू स्वयं कसरी र किन हाल अस्तित्वमा छन् भन्ने कुरालाई वेवास्ता गर्दछन् । आफ्नो धर्मलाई यसको लक्ष मुक्ति, मोक्ष, भित्री स्वतन्त्रता, भित्री सुख र आनन्द प्राप्त गर्न प्रयोग गर्नुको बदला तिनीहरू आफ्नो धर्मसँग त्यसलाई कुनै भौतिक सम्पत्तिझँै ठानेर बौद्धिक खेल खेल्दछन् ।

तपाईको भित्री प्रकृति कसरी विकसित हुन्छ भन्ने नबुझीकन तपाईले कसरी संभाव्य रूपले भित्री सुख पत्ता लगाउनुहुन्छ - भित्री सुख कहाँ छ - त्यो आकाश वा कुनै जङ्गलमा छैन । तपाईले त्यसलाई हावामा वा जमिनमुनि भेट्टाउन सक्नुहुन्न । चिरकालीन सुख तपाईभित्र नै तपाईको मनभित्रको चेतनामा छ ।

यदि तपाईले सिकेको धार्मिक सिद्धान्तले तपाईको दैनिक जीवनमा खुसी ल्याउन सहायक हुनैन भने त्यसको अर्थ नै के रह्यो र - तपाईले "म यो वा त्यो धर्मको अनुयायी हो" भने पनि तपाईले के गर्नुभएको छ, कसरी कार्य गर्नुभएको छ र त्यो धर्ममा लागेपछि तपाईले के कुरा पत्ता लगाउनुभएको छ जाँच्नुहोस् । तपाईले आफू स्वयंलाई विस्तृत प्रश्नहरू सोध्न नडराउनुहोस् । तपाईको आफ्नै अनुभव असल हो । तपाईले गर्ने सबै कुराबारे प्रश्न सोध्न अति आवश्यक छ नत्र भने तपाईले के गरिराख्नुभएको छ भनेर कसरी थाहा पाउनुहुन्छ - तपाईहरूलाई कुनै पनि धर्ममा अन्धविश्वासले समस्याहरू कहिल्यै पनि समाधान हुने छैन भन्ने कुरा थाहा छ भनेर मलाई यकिन छ ।

कैयन् मानिसहरू आफ्नो आध्यात्मिक अभ्यासबारे स्वांगी हुन्छन् । "यो कति सजिलो छ, म पत्येक हप्ता चर्चमा जान्छु । मेरा लागि त्यो नै यथेष्ट छ" भन्ने कुनै उत्तर होइन । तपाईको धर्मको उद्देश्य के हो - तपाईले चाहेको जवाफ पाइरहनुभएको छ कि तपाईको अभ्यास एउटा साधारण ठट्यौली मात्र हो - तपाईले अवश्य जाँच्नु पर्दछ । मैले कसैलाई निचो पार्न खोजेको होइनँ तर तपाई आफूले के गर्दै हुनुहुन्छ भन्नेबारे तपाई निश्चित हुनु पर्दछ । के तपाईको अभ्यासको गलत अर्थ लागेको छ -, मतिभ्रमले दूषित भएको छ - वा के त्यो वास्तविक छ - यदि तपाईको पथले तपाईलाई ठिकसँग कार्य गर्न र प्रेम, करुणा र ज्ञान जस्ता आध्यात्मिक उपलब्धि तर्फडोर्‍याउँछ भने त्यो स्पष्ट रूपले र्सार्थक छ । नत्रभने तपाईले आफ्नो समय मात्र खेर फाल्दै हुनुहुन्छ ।

गलत धारणाको मनोविकार लागूपदार्थभन्दा खतरनाक हुन्छ । तपाईको मनमा गलत विचार र दोषयुक्त अभ्यासले गहिरोसँग जरा गाडेको छ भने जीवनभरि त्यो जम्मा हुन्छ र अर्को जीवनमा तपाईको मनको साथ लागेर आउँछ । त्यो कुनै ठोस बस्तुभन्दा धेरैगुणा खतरनाक हुन्छ ।

हामी धार्मीक वा अधार्मिक, पूर्वीय वा पाश्चात्य सबै जना सुखी नै रहन चाहन्छौँ । सबैले सुखको खोजी गरिरहेका हुन्छन् तर के तपाईले उचित स्थानमा सुखको खोजी गरिराख्नुभएको छ - शायद सुख यहीँ छ तर तपाईले अन्यत्र कतै खोजिरहनुभएको छ । तपाईले अन्यत्र नखोजेर जहाँ सुख पाइन्छ त्यहीँ खोज्ने कुरामा निश्चित हुनु पर्दछ ।

भगवान् बुद्धका उपदेशहरू तपाईले धर्मलाई के हो भनेर कल्पना गरेभन्दा बढी रूपमा मनोविज्ञान र दर्शन सँग नजिकको सम्बन्ध भएको हामी मान्दछौं । धेरैजना मानिसहरू धर्म कुनै विश्वासको प्रश्न हो भन्ने सोच्दछन् तर यदि तपाईको धार्मिक अभ्यास मुख्यतया विश्वासमा भर पर्दछ भने कहिले काहीँ एउटा साथीको संशयात्मक प्रश्न- "तपाई यस धरतीमा के गर्दै हुनुहुन्छ -" भन्नेलाई पूर्णरूपले धराशयी पार्नेछ । "हे भगवान् ! मैले गरेका सम्पूर्ण कुराहरू गलत छन्" त्यसकारण तपाईले कुनै आध्यात्मिक पथ पैल्याउनुभन्दा पहिले तपाईले के गर्दैहुनुहुन्छ भन्नेबारे निश्चित हुनुहोस् ।

शारीरिक तथा मानसिक अनुभवहरूद्वारा इन्द्रीय संसार ९क्भलकभ ध्यचमि० प्रति अनुराग जाग्दछ भनेर बौद्ध मनोविज्ञानले भन्दछ । तपाईको पञ्चइन्द्रियहरूले आफ्नो मनलाई निरन्तर रूपले सूचनाहरू उपलब्ध गराउँदछ । फलस्वरूप विभिन्न प्रकारका अनुभवहरू उत्पन्न हुन्छ । तिनीहरू सबैलाई सुखदायी, दुःखदायी र तथष्ट गरी तीनवटा वर्गमा विभाजन गर्न सकिन्छ । यी अनुभवहरू शारीरिक वा मानसिक प्रेरणाहरूको प्रतिकृयास्वरूप उत्पन्न हुन्छन् ।

जब हामी आनन्ददायी अनुभूतिको अनुभव गर्दछौँ, त्यसको फलस्वरूप हामीमा भावनात्मक अनुराग उत्पन्न हुन्छ । र जब त्यो आनन्दको अनुभूति घटेर जान्छ, त्यो अनुभूति फेरि प्राप्त गर्नका लागि त्यस प्रतिको लालसा बृद्धि भएर जान्छ । त्यसको प्रकृति असंतुष्टि हो । त्यसले हाम्रो मनको शान्तिलाई बाधा पुर्‍याउँछ किनकि त्यसको प्रकृति व्याकुलता उत्पन्न गराउनु हो । जब हामीले दुःखदायी अनुभूतिको अनुभव गर्दछौं, हामीले त्यसलाई स्वत मन पराउँदैनौ र त्यसबाट मुक्त हुन चाहन्छौं । फेरि हाम्रो मनका शान्तिलाई खलबल्याउँदै मनमा द्वेस उत्पन्न हुन्छ । जब हामी टथष्ठ अनुभवको अनुभूती गर्दछौँ, के हुदैछ भन्ने कुराबारे हामी वेवास्ता गर्दछौं र वास्तविकताबारे थाहा पाउन चाहँदैनौ । यस प्रकारले हाम्रो दैनिक जीवनमा सुखदायी, दुःखदायी र टथष्ट जस्तोसुकै अनुभूति उत्पन्न भए पनि तिनीहरूले हामीलाई भावनात्मक रूपले बाधा पुर्‍याउँदछ र हाम्रो मन संतुलित वा समतामा हँुदैन ।

त्यसकारणले आफू स्वयंको अनुभवहरूलाई यस प्रकारले जाँच गर्दा विश्वाससँग यसको केही पनि लिनुदिनु छैन । छ त - यो कुनै पर्ूर्वीय हिमाली पहाडको वस्तु होइन । यो तपाई हो तपाईको वस्तु हो । मैले भनेका कुराहरूलाई तपाईले "मेरो कुनै प्रकारको अनुभव छैन" भनेर गलत सावित गर्न सक्नुहुन्न । यो कुरा कति सरल छ । होइन त -

त्यसबारे अझ भन्नुपर्दा, हाम्रा कैयन् नकारात्मक कार्यहरू हाम्रा आफ्नै अनुभवका प्रतिकृया हुन् । तपाई आफैले हेर्नुहोस् । मानिसहरूसँगको सम्बन्ध वा अन्य कुनै ज्ञानेन्द्रियसँगको सम्बन्धको फलस्वरूप जब तपाईले सुखदायी अनुभूतिको अनुभव गर्नुहुन्छ, वास्तवमा तपाईले कस्तो र किन सुख अनुभव गर्नुहुन्छ भन्नेबारे जाँच गर्नुहोस् । त्यो सुखको अनुभूति कुनै बाहिरी वस्तु होइन । हो त - त्यो त तपाईको मनमा हुन्छ । म निश्चित छु हामी सबैजना सुखको अनुभूति तपाई आफुभन्दा बाहिर छैन भन्ने कुरामा सहमत छौं । त्यसोभए तपाईले किन त्यसप्रकारको अनुभव गर्नुहुन्छ - यदि तपाईले यसप्रकारको प्रयोगहरू गर्नुभयो भने तपाईले खुसी र सुख, दुःख र कष्ट तथा टथष्ट अनुभवहरू सबै तपाईभित्र नै छन् भन्ने पाउनुहुने छ । तपाईले यो पनि पाउनुहुनेछ कि तपाई आफूले अनुभव गर्ने अनुभूतिहरूका लागि तपाई आफू स्वयं उत्तरदायी हुनुहुन्छ र तपाई आफूले गर्ने अनुभूतिहरूका लागि "उसले मलाई दुःखी बनायो, तिनले मलाइ दुःखी बनाइन्" भनेर अरूलाई आक्षेप लगाउन सक्नुहुन्न । तपाईले समाजलाई तपाईको समस्याहरूका लागि आक्षेप लगाउन सक्नुहुन्न । यद्यपि हामी त्यस्तो गर्ने गर्दछौँ । होइन त - त्यो वास्तविकता होइन ।

तपाईले आफ्नो मनको समस्याहरूको वास्तविक विकासक्रमलाई बुझ्नुभए पछि तपाईले कस्तो अनुभव गर्नुहुन्छ भन्नेबारे अरू जीवित प्राणीहरूलाई कहिल्यै आक्षेप लगाउनुहुन्न । त्यो महसुस गर्नु नै असल संचार र अरूलाई आदर गर्ने कार्यको सुरुवात हो । साधारणतया, हामी अचेतनशील छौं । हामीले अचेतनशिल भएर कार्यहरू गर्दछौं र अरूलाई स्वतः हानी र नोक्सानी पुर्‍याउन खोज्दछौं । त्यस कुराको हामी वास्ता नै गर्दैनौं बस ! त्यो गर्दछौ मात्र ।

कैयौँ मानिसहरू र केही मनोवैज्ञानिकहरूले समेत लालसाको अनुभूतिलाई कुनै बस्तुद्वारा स्थगित गर्न सकिन्छ भन्ने कुरालाई मानेझैँ लाग्दछ । यदि तपाईको पति या पत्निले तपाईलाई छाडेको कारण तपाईलाई दुःख लागेको छ भने अर्को पति या पत्नि पाएमा तपाईको समस्या समाधान हुन्छ भन्ने कुरा असंभव छ । सुखदायी, दुःखदायी र टथष्ट अनुभूतिको चारित्रिक प्रकृति नबुझीकन तपाईले आफ्नो मनोवृत्तिको प्रकृति पत्ता लगाउन सक्नुहुन्न र त्यो पत्ता नलगाईकन तपाईले आफ्नो भावनात्मक समस्याहरूको अन्त्य गर्न सक्नुहुन्न ।

उदाहरणका लागि, बुर्द्धधर्मले तपाईले सम्पर्ूण्ा जीवित प्राणीहरूलाई माया र करुणाको अनुभूतिले हेर्नु पर्दछ भन्दछ । तपाईभित्र अज्ञानी र द्वैध मनले शक्तिशाली भएर कार्य गरिराखेको बेला तपाईले कसरी सम्पर्ूण्ा जीवित प्राणीहरूप्रति समताको व्यवहार गर्नुहुन्छ - तपाईले सक्नुहुन्न किनकि भावनात्मक रूपले तपाई अतिवादी हुनुहुन्छ । कुनै खास वस्तुसँगको सर्म्पर्कद्वारा सुखदायी अनुभूति उत्पन्न भएर जब तपाईले खुसी अनुभव गर्नुहुन्छ, तपाईले त्यस वस्तुको असल गुण जेलाई सम्झनुभएको छ तपाईले आफ्नो भावनालाई जतिसक्दो फैलाएर त्यसलाई तपाईले स्थुल रूपले बढाइ चढाइ गर्नुहुन्छ । तर तपाईलाई थाहा छ तपाईको मन त्यसरी उच्च भएर बसिरहँदैन । त्यो अनित्य छ, संक्रमणयुक्त छ । त्यसैले तपाई अवश्य पनि टुट्नुहुनेछ । त्यसपछि तपाईको सन्तुलित मन स्वतः विचलित हुन्छ । वास्तवमा मनको अनुभूतिहरूको खोजिमा तपाईले कति शक्ति खर्च गर्नुभयो भन्ने कुरा तपाईले बुझ्नु पर्दछ । हामी जहिले पनि बढी अतिवादि हुन्छौं । हामीले मध्यमार्ग अनुशरण गर्नु पर्दछ ।

यदि तपाईले बढी गहिरिएर हेर्नुभयो भने संसारको सम्पूर्ण द्वन्द्वहरूको पछाडि अनुभूतिहरू उत्तरदायी भएको पाउनुहुनेछ । दर्ुइजना स-साना बालकहरू मिर्ठाईका लागि झगडा गरेको देखि लिएर दुइवटा ठूला राष्टूहरू आफ्नो अस्तित्वका लागि युद्ध गरेसम्म उनीहरू केका लागि झगडा वा युद्ध गर्दछन् - सुखदायी अनुभूतिका लागि । बोल्न नसिकेका बच्चाहरू पनि आफू सुखदायी अनुभूति पाउनका लागि झगडा गर्दछन् ।

ध्यानद्वारा तपाईले यी सबै कुराहरूको सत्यता सजिलै देख्नुहुनेछ । ध्यानले तपाईको मनमा भएको सबै कुरालाई देखाइदिन्छ । तपाईको सबै फोहरमैला, तपाईको सबै सकारात्मक कुराहरू इत्यादि सम्पूर्ण कुराहरूलाई ध्यानद्वारा हेर्न सकिन्छ । तर ध्यान गर्नुको मतलब पलैटी मारेर केही पनि नगरी बस्नु हो भन्ने नसोच्नुहोस् । हिँडदा, खाँदा, पिउँदा, कुरा गर्दा, तपाईले गर्ने सम्पूर्ण कुराहरू गर्दा चेतनशील हुनु ध्यान हो । जति चाँडो तपाईले यो कुरालाई बुझ्नुहुन्छ, तपाई स्वयं आफ्नो कार्यहरू तपाईले चाहेको सुखद अनुभूति र नचाहेको दुःखद अनुभूतिका लागि र तपाईलाई कसैले नियन्त्रण नगरोस् भन्ने भावनाका लागि तपाई स्वयं उत्तरदायी हुनुहुन्छ भनेर बुभनुहुन्छ ।

कुनै सुखदायी अनुभूति उत्पन्न भएपछि त्यसको प्रकृतिअनुसार त्यो घट्दछ र त्यसले तपाईको मनलाई विचलित तुल्याउँदछ किनकि त्यसलाई तपाईले फेरि प्राप्त गर्न चाहनुहुन्छ । त्यसको सिर्जना कुनै देव, कृष्ण, बुद्ध, वा अन्य कुनै बाह्य निकायले गरेको होइन । त्यसका लागि तपाई स्वयंको कार्यहरू उत्तरदायी छन् भन्ने कुरा देख्न सजिलो छैन र - एउटा कमजोर मनले सोच्दछ- "ओह ! यसले मलाई बिरामी तुल्यायो । तिनले मलाई भयानक अनुभूति गर्न बाध्य पार्दछिन्" त्यो जहिले पनि कसैलाई वा कुनै वस्तुलाई आक्षेप लागाउने कमजोर मनको कार्य हो । मलाई लाग्दछ, वास्तवमा तपाईले आफ्नो दैनिक जीवनको अनुभवहरूलाई शरीरिक र मानसिक अनुभवहरू उत्पन्न हुन्छ भनेर जाँच गर्नु अचम्मको चाखलाग्दो कार्य भएको पाउनुहुनेछ । तपाईले जहिले पनि केही सिकिरहनुभएको हुन्छ । तपाईले केही नसिकिरहनुभएको कुनै समय नै हुँदैन । यस प्रकारले तपाईको आफ्नै बोध ज्ञानको प्रयोगद्वारा चिरकालीन शान्ति र सुख तपाई आफूभित्र नै भएको पाउनुहुनेछ । दुर्भाग्यबस, कमजोर मनमा त्यत्ति धेरै बोध ज्ञानको उर्जा हुँदैन । तपाईले त्यो उर्जालाई आफ्नै मनभित्र भरणपोषण गर्नु पर्दछ ।

महायान बुर्द्धधर्मले हामीलाई किन सम्पर्ूण्ा प्राणीहरूका लागि समताको भावको विकास गर्नुपर्दछ भन्दछ - हामीले जहिले पनि एउटा सानो वस्तुलाई एउटा सूक्ष्म परमाणु, एउटा एक्लो जीवित प्राणीलाई मात्र- "यो मेरा लागि हो । यो सबैभन्दा असल छ" भनेर छान्दछौं । त्यसप्रकारले हामीले अति मूल्याङ्कन गर्दछौं । हामीले मन पराएको चिजको बढाइ चढाइ गरेर मूल्याङ्कन गर्दछौं र बाँकी सबैलाई हेला गर्दछौं । त्यो तपाईको मनको शान्तिको लागि असल हँुदैन । त्यसको बदला तपाईले आफ्नो व्यवहार जाँच गर्नु पर्दछ । "मैले किन यस्तो गरिरहेको छु - मेरो अहम्भाव केन्द्रित अवास्तविक मनले मेरो चेतनालाई प्रदूषित गरिरहेको छ" त्यसपछि सम्पूर्ण प्राणीहरू खुसीको चाहना गर्ने र दुःखको चाहना नगर्ने कुरामा एकै प्रकारमा छन् भनेर समतामा ध्यान गरेर तपाईले एउटा प्रतिको अति अनुराग र अर्को प्रति अति घृणालाई कसरी न्यूनीकरण गर्ने भन्नेबारे सिक्न सक्नुहुन्छ । यसप्रकारले तपाईले सजिलैसँग आफ्नो मनलाई सन्तुलित र स्वस्थ्य राख्न सक्नुहुन्छ । कैयौं मानिसहरूले यस प्रकारको अनुभव गरिरहेका छन् ।

त्यसकारणले तपाईको दैनिक जीवनमा खलबल पुर्‍याउने हताशरूलाई सामना गर्ने प्रयास गर्नका लागि भगवान् बुद्धको मनोविज्ञानले ठूलो सहायता पुर्‍याउँदछ । यो नबिर्सिनुहोस् कि सुखदायी अनुभूतिहरू उत्पन्न हुँदा चाहना, उत्कण्ठा र अनुरागहरू जागृत हुन्छन्; दुःखदायी अनुभूति उत्पन्न हुँदा द्वेष र घृणा जागृत हुन्छ र तथष्ट अनुभूती उत्पन्न हुँदा अज्ञानता, वास्तविकता तर्फअन्धोपनले तपाईको मनलाई कब्जा गर्दछ । यदि यी उपदेशहरूद्वारा तपाईको अनुभूतिहरू कसरी उत्पन्न हुन्छ भन्ने वास्तविकता जानेर त्यसप्रति तपाईले कसरी प्रतिकृया गर्नुहुन्छ भनेर सिक्न सक्नुभयो भने तपाईको जीवनमा धेरै सुधारहरू आउनेछन् र तपाईले अझ बढी सुख र शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ ।

अब कुनै प्रश्नहरू छन् कि ?

प्रश्न- बुर्द्धधर्मले जहिले पनि कर्मको बारेमा चर्चा गर्दछ त्यो वास्तवमा के हो ?

लामा- तपाईको शरीर र मनको अनुभवहरू नै तपाईको कर्म हो । यो शब्द चाहिँ संस्कृत शब्द हो । यसको अर्थ 'कारण र त्यसको असर' ९ऋबगकभ बलम भ्ााभअत० हो । तपाईको शारीरिक र मानसिक सुख वा दुःख कुनै न कुनै कारणको असर हो । तर ती असरहरू स्वयं नै भविष्यका परिणामहरूको कारणहरू बन्दछन् । एउटा कृयाले त्यसको प्रतिकृया उत्पन्न गर्दछ त्यो नै कर्म हो । पूर्वीय दर्शन तथा विज्ञान दुवैले सम्पूर्ण वस्तुहरू एकआपसमा अन्तरसम्बन्धयुक्त छ भनेर व्याख्या गर्दछ । यदि तपाईले त्यो कुरा बुझ्न सक्नुभयो भने कर्मले कसरी कार्य गर्दछ भनेर तपाईले बुझ्न सक्नुहुनेछ । सम्पूर्ण बाहिरि र भित्रि अस्तीत्व कुनै दुर्घटनावश उत्पन्न हुने होइन । सम्पर्ूण्ा बाहिरी र भित्री घटनाहरूको उर्जा एक आपसमा भर परेर रहेका हुन्छन् । उदाहरणका लागि तपाईको शरीरको उर्जा तपाईको माता पिताको शरीरको उर्जासँग सम्बन्धित हुन्छ । त्यस्तै गरेर उहाँहरूको शरीरको उर्जा पनि उहाँहहरूको माता पिताको शरीरको उर्जा सँग सम्बन्धित हुन्छ इत्यादि । त्यसप्रकारको विकास नै कर्म हो ।

प्रश्न- निर्वाण भनेको के हो - के यो धेरै मानिसहरूले प्राप्त गरेका छन् -

लामा- तपाईले एकलबिन्दुको एकाग्रतामा मनलाई एकीकृत गर्ने जस्ता एकाग्रशक्ति विकास गर्नुभएपछि तपाईले क्रमशः आफ्नो अहम्को भावनात्मक प्रतिकृयाहरू तिनीहरू सम्पूर्ण रूपले लोप नभएसम्म घटाउदै लग्नुहुन्छ । त्यस अवस्थामा तपाईले तपाईका अहम् ९भ्नय० बाट पार हुनु हुनेछ र एउटा चिरकालीन, परम सुखयुक्त र शान्त मनको अवस्था प्राप्त गर्नु हुनेछ । हामी त्यसैलाई निर्वाण भन्दछौँ । कैयौं मानिसहरूले यो अवस्था प्राप्त गरेका छन् र कैयौं मानिसहरू त्यो प्राप्त गर्नेतर्फो पथमा छन् ।

प्रश्न- निर्वाणमा तपाईको शारीरिक रूप लोप हुन्छ ? के त्यो व्यक्ति लोप हुन्छ ?

लामा- होइन । तपाईको शरीर रूप कायमै हुन्छ तर त्यसको अहिलेको हाम्रो जस्तो अनियन्त्रित स्नायु प्रणाली हुदैन र चिन्ता नगर्नुहोस्, जब तपाईले निर्वाण प्राप्त गर्नुहुन्छ तपाई यहीँ नै हुनुहुनेछ तर खुसीका अवस्थामा हुनुहुनेछ । त्यसैले त्यो सकेसम्म चाँडो प्राप्त गर्न भरमग्दुर प्रयास गर्नुहोस् ।

प्रश्न- निर्वाण प्राप्त गरेपछि फेरि कहिले पनि पुनर्जन्म हुँदैन भनेर बुद्धले भन्नुभएको छैन र ?

लामा- शायद उहाँले भन्नुभयो होला तर उहाँको मतलब के थियो - उहाँको मतलब हामी सांसारिक प्राणीहरूले लिने जन्म जस्तो अहम्को उर्जा शक्तिद्वारा जकडिएको अनियन्त्रित जन्म लिनुहुने छैन भन्ने हो । त्यसको बदला, उहाँ फेरि त्रुटिविहीन नियन्त्रण युक्त भएर माता प्राणीहरूको कल्याण गर्ने एकमात्र उद्देश्य लिएर पर्ुनर्जन्म लिन सक्नुहुन्छ ।

प्रश्न- तपाईले सुख र खुसीबारे धेर चर्चा गर्नुभयो म मेरो मनमा ती दुइ बीचको भिन्नताबारे स्पष्ट हुने प्रयास गरिरहेको छु । के तिनीहरू एकै हुन् ?  के कोही मानिस सुखमा लिप्त रहेर पनि खुसीबाट अलग हुन सक्तछ ?

लामा- तिनीहरू दुवै एकै हुन् र हामी दुवैमा लिप्त हुन्छौँ । हामीले सुखको अनुभूतिलाई त्यसैमा लिप्त भएर अनुभव गर्नु हुँदैन भन्ने उद्देश्य लिनु पर्दछ । खुसीका अनुभूतिहरूलाई त्यस विषयको प्रकृति हाम्रो मन, वस्तु र हाम्रो अनुभूतिलाई बुझेर अनुभव गर्नु पर्दछ । निर्वाणमा पुगेकाहरूले यो गर्न सक्तछन् ।

प्रश्न- म ध्यानको बौद्ध अर्थबारे स्पष्ट हुन चाहन्छु । मैले यसलाई "मनको पथलाई अवलोकन गर्ने" भनेर व्याख्या गर्न सक्छु कि ?

लामा- हो, तपाईंले त्यसप्रकारले सोच्न सक्नुहुन्छ । मैले पहिला भनेअनुसार बौद्ध ध्यानको अर्थ पलैटी मारेर, आँखा चिम्लिएर बस्नु मात्र हो भन्ने जरुरी छैन । हिँडदा, कुरा गर्दा, किनमेल गर्दा वा जुनसुकै काम गर्दा आफ्नो मनले चेतनाको संसारप्रति कस्तो प्रतिकृया गर्दैछ भनेर सरल ढङ्गले अवलोकन गर्नु पनि एउटा त्रुटिविहीन ध्यान हुन सक्तछ र त्यसबाट त्रुटिविहीन परिणाम निस्कन सक्तछ ।

प्रश्न- पुनर्जन्मको सम्बन्धमा, पुनर्जन्म हुने वस्तु के हो ?

लामा- तपाईंको मृत्यु भएपछि तपाईको चेतना तपाईको शरीरबाट अलग हुन्छ । त्यसपछि अन्तराभव -बर्दो)मा प्रवेश गर्दछ र त्यहाँबाट त्यो अर्को शरीर रूपमा जन्म लिन पुग्दछ । हामी त्यसलाई पुनर्जन्म भन्दछौं । शारीरिक र मानशिक उर्जा एक आर्का सँग भिन्न छन् । शारिरिक उर्जा एकदमै सिमित हुन्छ तर मानसिक उर्जाको जहिले पनि निरन्तरता हुन्छ ।

प्रश्न- के मृत्युपछिको अवस्थामा पनि चेतनाको विकास हुन सम्भव छ ? कि यो शरीर प्रवेशपछिको जीवनमा मात्र सम्भव हुन्छ ?

लामा- मृत्युप्रकृयामा तपाईको चेतनाको प्रवाह विद्युत्को प्रवाह जस्तै गरेर भइराखेको हुन्छ । जुन विद्युत् गृहबाट उत्पन्न हुन्छ तर विभिन्न घरहरूमा विभिन्न उपकरणहरूमा पुग्दै निरन्तर रूपले प्रवाहित हुन्छ । अन्तराभव -भार्दो) अवस्थामा चेतनाको विकास हुन संभव छ ।

प्रश्न- त्यसो भए चेतनालाई विकसित हुनु भौतिक शरीरको आवश्यकता छैन ?

लामा- त्यसवेला अन्तराभव -भार्दो) अवस्थाको शरीर हुन्छ तर त्यो हाम्रो जस्तो हँुदैन त्यो अति नै हलुका शरीर हुन्छ ।

प्रश्न- तपाईंले मन्त्र जप्दा आफ्नो शरीरको कुनै अङ्गमा ध्यान एकाग्र गर्नुहुन्छ कि ? के तपाईंले आफ्नो चक्र वा उर्जा केन्द्रहरूमा ध्यान एकाग्र गर्नुहुन्छ ?

लामा- त्यो सम्भव छ तर तपाईंले यो बिर्सनु हुदैन कि भिन्न उद्देश्यका लागि भिन्न पद्दतिहरू हुन्छन् । भगवान् बुद्धले एउटै कुरामात्र सिकाउनु भयो भनेर तपाईंले नसोच्नुहोस् । बुर्द्धधर्ममा हजारौं हजार शायद अपरिमित संख्यामा ध्यानका पद्दतिहरू छन्, जुन विभिन्न प्रवृत्तिका मानिसहरूका लागि सुहाउँदो गरेर प्रत्येक अपरिमित जीवित प्राणीहरूको चित्तवृत्ति अनुसार दिइएका छन् ।

प्रश्न- हाम्रो जीवनकालमा विकसित हुने र मृत्यु हुँदा हामीलाई छाड्ने चेतना कुनै भगवान् र र्सार्वलौकिक चेतना जस्ता परम चेतनाको अंश हो कि ?

लामा- होइन । त्यो अति साधारण र सरल चेतना हो र तपाईंको अहिले भएको चेतनाको सोझो निरन्तरता हो । फरक यत्ति मात्र हो कि त्यो तपाईंको शरीरबाट अलग भएर अर्को शरीरको खोजीमा हुन्छ । यो अन्तराभवको चेतना कर्मको नियन्त्रणमा हुन्छ र क्रोधित, विचलित, द्वन्द्वपूर्ण र अलमलमा परेको हुन्छ । तपाईंले त्यसलाई उच्च वा परम भन्ने कुनै बाटो छैन ।

प्रश्न- तपाईंलाई 'आत्मा' र 'ब्रम्ह' जस्ता हिन्दु अवधारणाबारे केही थाहा छ कि ?

लामा- हिन्दु दर्शनले आत्माको अस्तित्वलाई स्वीकार गर्दछ भने बौद्ध दर्शनले त्यसको अस्तित्वलाई स्वीकार गर्दैन । हामी स्व-अस्तित्वको 'म' वा स्थायी स्वतन्त्र आत्माको अस्तित्वलाई पूर्णरूपले अस्वीकार गर्दछौं । तपाईंको शरीर र मनको सम्पूर्ण पक्ष अस्थायी छ र निरन्तर रूपले परिवर्तनशील छ । परिवर्तन... परिवर्तन... र परिवर्तन ......बौद्ध दर्शनले स्थायी नर्कको अस्तित्वलाई पनि अस्वीकार गर्दछ । हामीले अनुभव गर्ने प्रत्येक सुख र दुःख प्रवाहयुक्त अवस्थाको अति अन्तराभवयुक्त, अति अनित्य,  सर्वथा परिवर्तनशील र अस्थायी छ । त्यसकारण हाम्रो अस्तित्वको असन्तोषपूर्ण प्रकृतिलाई चिनेर अन्तराभवयुक्त ज्ञान वस्तुहरूले अन्तराभवयुक्त ज्ञानेन्द्रियको सर्म्पर्कमा आएर अन्तराभवयुक्त तथा धारण गर्नलायक कुनै पनि अनुभूति नदिने संसारलाई परित्याग गरेर हामी त्यसको बदलामा चिरकालीन, अनन्त्तको सुखदायक बोधिज्ञान वा निर्वाणको सिद्धि प्राप्त गर्दछौँ ।

प्रश्न- भावनायुक्त पूर्वीयाहरूलाई भन्दा बुर्द्धधर्मको अभ्यास गर्ने प्रयास गरिरहेका पश्चिमाहरूका लागि के तपाईंलाई पूजा महत्पपुर्ण हो भन्ने लाग्दछ ?

लामा- त्यो तपाईंले के भन्न खोज्नुभएको हो भन्ने कुरामा भर पर्दछ । वास्तविक बौद्ध अध्ययनमा तपाईंलाई कुनै भौतिक वस्तुहरूको आवश्यकता पर्दैन । तपाईंको मन नै त्यसमा भर पर्ने कुरा हो । तपाईंले घण्टी बजाउनु बत्तीहरू बाल्नु पर्दैन । के तपाईंले भनेको त्यही अर्थमा पूजा भनेको हो - -हो) असल । त्यसोभए तपाईंले चिन्ता लिनु पर्दैन त्यो पश्चिमाहरूलाई झैँ गरी पूर्वियाहरूमा पनि लागू हुन्छ । यद्यपि केही मानिसहरूलाई त्यस्ता वस्तुहरू आवश्यक हुन्छन् । विभिन्न मनका लागि विभिन्न विधिको प्रयोग गर्नु पर्दछ । उदाहरणका लागि तपाईंले चश्मा लगाउनुहुन्छ । तिनीहरू महत्त्वपूर्ण बस्तुहरू होइनन् तर केही मानिसहरूका लागि त्यो आवश्यक हुन्छ । त्यसैकारणले विश्वका विभिन्न धर्महरूले अफ्नो विभिन्न अनुयायीहरूका लागि व्यक्तिको क्षमता र स्तरअनुसार विभिन्न पथहरूको उपदेश दिएको छ । त्यसकारण हामीले "यो नै वास्तविक पथ हो । सबैले मेरो पथ नै अनुशरण गर्नु पर्दछ" भनेर भन्न सक्तैनौं

प्रश्न- आजभोलि पश्चिमा देशहरूमा नौलो नौलो अभ्यासको विधिहरूको आवश्यकता छ कि ?

लामा- छैन । कुनै पनि नौलो विधिको आवश्यकता छैन । सबै विधिहरू छँदैछन् । तपाईंले त्यो भेटाउनु मात्र पर्दछ ।

प्रश्न- म बुर्द्धधर्ममा शरीर र मन बीचको सम्बन्धलाई बुझ्ने कोशिस गर्दैछु । के हाम्रा लागि शरीर भन्दा मन महत्त्वपूर्ण हो ? उदाहरणका लागि मन्त्र उच्चारण गर्ने तान्त्रिक भिक्षुको सम्बन्धमा तिनीहरूले आफ्नो शरीरको भागको विकास उच्चारण गर्नका लागि गर्दछन् । त्यसैले शरीर कतिको महत्त्वपूर्ण छ ?

लामा- हाम्रा लागि मन नै सबैभन्दा महत्त्वपूर्ण वस्तु हो तर केही ध्यान अभ्यासहरूका केही विधिहरूले निश्चित शारीरिक योग अभ्यासले उच्च बनाउँदछ । त्यस विपरीत यदि तपाईंको शरीर अस्वस्थ्य छ भने त्यसले तपाईंको मनलाई असर पार्न सक्तछ । त्यसैले तपाईंको शरीर स्वस्थ्य राख्न अति महत्त्वपूर्ण छ । तर यदि तपाईंले शरीरलाई मात्र ध्यान दिएर आफ्नो मनको प्रकृतिको वास्तविकतालाई जाँच गर्नलाई वेवास्ता गर्नुभयो भने त्यो पनि बुद्धिमत्ता होइन । त्यो असन्तुलित र अवास्तविक हुन्छ । त्यसकारण मलाई लाग्दछ, हामी सबै मन नै शरीरभन्दा महत्त्वपूर्ण छ भन्ने कुरामा सहमत छौँ तथापि हामीले शरीरलाई सम्पूर्ण रुपले विर्सन सक्तैनौं । मैले पश्चिमाहरूलाई पूर्वमा उपदेशहरूको लागि आएको देखेको छु, जब तिनीहरू उच्च पहाडी क्षेत्रमा विना खानेकुरा बसेका तिब्बती योगीहरूबारे सुन्दछन्, उनीहरू "कस्तो अद्भूत ! म पनि मिलारेपा जस्तै हुन चाहन्छु ।" भन्दछन् । त्यो गलत हो । यदि तपाईं पश्चिमा देशमा जन्मनुभएको छ भने तपार्एइंको शरीर निश्चित विशेष अवस्थाका लागि अनुकूल भएको हुन्छ । त्यसैले त्यसलाई स्वस्थ्य राख्नका लागि तपाईंले एउटा प्रेरक वातावरण बनाउनु पर्दछ । तपाईंले त्यसका लागि हिमालयको सफर नगर्नुस् । बुद्धिमान् हुनुहोस् । अतिवादी नबन्नुहोस् ।

प्रश्न- मानिस जन्मँदा उसको मन शुद्ध र निर्दोष हुन्छ भन्ने कुरा साँचो हो त ?

लामा- हामी सबैलाई थाहा छ, जब तपाईंको जन्म हुन्छ, तपाईंको मन बौद्धिक जन्जालमा जाकिएको हँदैन । तर जब तपाईं ठूलो हँुदै गए पछि सोच्न थाल्नुहुन्छ यो यत्ति धेरै सूचना, दर्शन, हेन, तेन, यो असल छ, यो खराब छ, मैले यो लिनर्ुपर्दछ, मैले यो लिनु हुँदैन, भन्ने जस्ता फोहरमैलाहरूले दिमाग भरेर तपाईंको यत्ति धेरै बौद्धिक हुनुहुन्छ कि तपाईं पूर्णतया शुद्धरूपमा जन्मनुभएको थियो तर बौद्धिकताको आगमनपछि मात्र तपाईं नकारात्मक हुनुभयो । यसको मतलब त्यस्तो होइन । किन ? किनकि यदि तपाईं आधारभूतरूपले अज्ञानता र अनुरागबाट मुक्त हुनुहुन्थ्यो भने तपाईं नजिक आउने जुनसुकै फोहर मैलाले तपाईंको मनभित्र प्रवेश पाउन सक्ने थिएन । दुर्भाग्यबस हामी त्यस्ता छैनौं । आधारभूत रूपमा हाम्रो बाटोमा आउने जुनसुकै बौद्धिक फोहरमैलाका लागि धेरै खुला मात्र छैनौं तर हामीले त्यसका लागि एउटा ठूलो स्वागत तुल टाँगेको हुन्छौं । त्यस प्रकारले पल पल गरेर हाम्रो मनमा बढीभन्दा बढी फोहरमैलाको थुप्रो जम्दै गएको हुन्छ । त्यसकारणले बच्चाहरू पूर्णरूपको शुद्ध मन लिएर जन्मेका हुन्छन् भनेर तपाईंले भन्न सक्नुहुन्न । त्यो गलत कुरा हो । बच्चाहरूको अनुभूति हुन्छ त्यसैले तिनीहरू रुन्छन् । जब एउदा दुःखदायी अनुभूति हुन्छ -शायद तिनीहरू आमाको दूध चुस्न लालायित हुन्छन् त्यसैले उनीहरू रुन्छन् ।

प्रश्न- हाम्रो चेतना एउटा शरीरबाट अर्को शरीरमा, एउटा जीवनबाट अर्को जीवनमा प्रवेश गरिरहन्छ भन्ने सोचाइ छ तर यदि चेतनाको निरन्तरता छ भने हामीले हाम्रो पहिलेको जीवनलाई किन सम्झन सक्तैनौं

लामा- हाम्रो मनमा भीड लाग्ने अत्यधिक मात्राको 'विशालबजार' सूचनाहरूले हामीलाई पहिलेका अनुभूतिहरू बिर्सने गराउँदछ । विज्ञानले समेत मस्तिष्कको सिमितताको कारण नयाँ सूचनाले पुरानो सूचनालाई दवाउँदछ भन्दछ । तर त्यो पूर्णतया सत्य होइन । आधारभूत रूपमा वास्तवमा के हुन्छ भने मानव मन प्रायजसो अचेतन, अज्ञानी हुन्छ र नयाँ विचारहरूप्रति यति पर्ूवाग्रही हुन्छ कि त्यसले पुरानो सूचनाहरूलाई बिर्सिदिन्छ । गत महिनालाई हेर्नुहोस् । गत महिनामा वास्तवमा के के भए सरल रूपमा प्रत्येक दिन तपाईंका के के अनुभूतिहरू थिए, सम्झन सक्नुहुन्न । सम्झन सक्नुहुन्छ त - अझ बढी जाँच गर्ने हो भने तपाईं आमाको कोखमा केही कोषहरू मात्र भएको प्रारम्भिक अवस्थामा र्फकंदा र त्यसपछि अझपछि सम्झन अति नै कठिन छ । होइन र - तर तपार्इंले मनलाई जाँच गर्दै विस्तारै अभ्यास गर्नुभयो भने तपाईंले पहिलेका अनुभूतिहरूलाई विस्तारै सम्झन सक्नुहुनेछ । हामी मध्येका कैयौंले यस्तो अनुभव गरेको हुन सक्तछ कि कुनै घटेको घटनाप्रति तपाईंले अनौठो प्रतिकृया जनाएको होस् । त्यस प्रतिकृयाप्रति अचम्ममा परेको हो किनभने त्यो प्रतिकृया तपाईंको जीवनको कुनै पनि अनुभूतिसँग सम्बन्धित नहोस् । "कस्तो अचम्म ! मैले किन त्यस्तो प्रकारको प्रतिकृया गरें - त्यो कहाँबाट आयो भनेर मलाई केही पनि थाहा छैनँ" त्यो किन हुन्छ भने त्यो पहिलेको जीवनको अनुभवबाट भएको हो । आधुनिक मनोवैज्ञानिकहरूले यस्तो प्रतिकृयाबारे मनको निरन्तरता प्रत्येक व्यक्तिको शुरुवातविहिन प्रकृतिबारे नबुझ्ने भएकाले कुनै व्याख्या गर्न सक्तैनन् ।

उनीहरूले हजारौं हजार वर्षपहिले उत्पन्न भएको प्रेरणाको परिणामस्वरूप उत्पन्न भएको प्रतिकृयाहरूलाई बुझ्न सक्तैनन् । यदि तपाईंले ध्यानद्वारा आफ्नो मनलाई जाँच्ने काम गरिरहनुभयो भने तपाईंले विस्तारै यी सबै कुराहरू तपाईं स्वयंको अनुभवद्वारा बुझ्न सक्नुहुन्छ ।

प्रश्न- के पहिलेको जीवनबारे थाहा पाउनु नकारात्मक हुन्छ ? के त्यो अवरोधात्मक हुन्छ ?

लामा- त्यो अनुभव नकारात्मक वा सकारात्मक कुनै पनि हुन सक्तछ । यदि तपाईंले आफ्नो पहिलेको जीवनबारे महसुस गर्नुभयो भने त्यो सकारात्मक हुन्छ । अज्ञानताद्वारा अवरोध उत्पन्न हुन्छ । तपाईंले नकारात्मकताको चारित्रिक विशेषतालाई महसुस गर्ने प्रयास गर्नु पर्दछ । जब तपाईंले त्यो गर्नुहुने छ, समस्याको समाधान हुन्छ । नकारात्मकताको प्रकृतिलाई बुझ्दा त्यसले ल्याउने समस्याहरूलाई रोक्दछ । त्यसकारणले ठीक बुझाइ शारीरिक र मानसिक दुवै समस्याहरूको एकमात्र समाधान हो । तपाईंले जहिले पनि आफ्नो उर्जालाई कसरी विस्तार गर्दै हुनुहुन्छ भन्ने कुरालाई सावधानीपर्ूवक जाँच गर्नुपर्दछ । त्यसले तपाईंलाई खुसी बनाउँछ कि बनाउँदैन, त्यो एउटा ठूलो उत्तरदायित्व हो जस्तो तपाईंलाई लाग्दैन । बोधको पथ या अज्ञानताको पथ त्यो तपाईंको छनौट हो ।

प्रश्न - दुःख भनेको के हो ?

लामा- मनमा उत्पन्न भएको क्षोभ, असन्तुष्टिको अनुभूति नै दुःख हो । वास्तवमा दुःखका विभिन्न सूक्ष्म स्तरहरूलाई बुझ्नु धेरै महत्त्वपूर्ण छ होइन भने मानिसहरूले "बुर्द्धधर्मले किन सबै मानिसहरू दुःखी छ भन्दछ - म सुखी नै छु" भन्न सक्तछ । भगवान् बुद्धले दुःखबारे चर्चा गर्नु हुँदा उहाँले चोटपटक लागेबाट उत्पन्न भएको पीडाको दुःख वा हामीले प्रायजसो अनुभव गर्ने मनको वेदनालाई मात्र इंगित गर्नुभएको होइन । हामी खुसी छाँै भन्दछौँ तर हामीले हाम्रो खुसीलाई नजिकबाट जाँच गर्यौँ भने हामीले हाम्रो मनमा अझ पनि कैयौ्र असन्तुष्टिहरू रहेको पाउँदछौं । बौद्ध दृष्टिकोणमा हामीले हाम्रो मनलाई नियन्त्रण गर्न नसक्नु मनको एउटा दुःखहो भन्ने एउटा सरल तथ्य हो । वास्तवमा त्यो हामीले अनुभव गर्ने विभिन्न शारीरिक पीडाभन्दा झन् खराब हो । त्यसकारण जब बुर्द्धधर्मले दुःखबारे चर्चा गर्दछ, यसले शारीरको भन्दा मानको स्तरलाई बढी जोड दिन्छ । त्यसकारणले व्यवहारिक पक्षमा बुद्धका उपदेशहरू आधारभूत रूपमा प्रयोगात्मक मनोविज्ञान हो । बुर्द्धधर्मले मनको स्तरमा दुःखको प्रकृति र त्यसलाई निर्मूल पार्ने विधिबारे शिक्षा दिन्छ ।

प्रश्न- हामी सबैले किन दुःखको अनुभव गर्दछौं र यसबाट हामीले के सिक्नुपर्दछ ?

लामा- त्यो अति सरल छ । छैन र - हामीले किन दुःख पाउँदछौं - किनभने तपाईं अज्ञानताको कार्यमा बढी संलग्न तथा अनुरागको चंगुलमा हुनुहुन्छ । दुःख कहाँबाट आउँदछ र तपाईंलाई वास्तवमा दुःखी केले बनाउँदछ भन्ने कुरा महसुस गरेर तपाईंले दुःखबाट सिक्न सक्नुहुन्छ । हाम्रो अनगिन्ति पूर्वजन्महरूमा हाम्रो यति धेरै अनुभवहरू छन् तर अझसम्म हामीले त्यत्ति कुराहरू सिकेका छैनौँ । उनीहरूको अचेतन मनमा पहिलेका अनुभवहरू असंख्य छन् तर तिनीहरूलाई अझसम्म आफ्नो वास्तविक प्रकृतिबारे केही पनि थाहा छैन ।
प्रश्न
-
हामीले किन अनुरक्त हुने अवसर पाउँदछौँ ?

लामा- किनकि हामी मतिभ्रममा परिरहेका हुन्छौं । हामीले वस्तु र विषय दुवैको वास्तविकता देख्दैनौं । जब तपाईंले अनुरागको वस्तुको प्रकृतिबारे बुझ्नुहुन्छ, अनुरागको विषयगत मन स्वतः हराउँदछ । यो वस्तुप्रति आकषिर्त हुने कुहिरोले ढाकेको मन हो र त्यसले यसमा विकृत प्रक्षेपण गर्दछ र त्यसले तपाईंलाई दुःखी तुल्याउँदछ । बस । यो वास्तवमै अति सरल छ ।

प्रश्न- मैले क्रोधदेवहरूको तिब्बती मूर्तिहरू देखेको छु तर तिनीहरू क्रोधयुक्त देखिए पनि हानिकारक देखिँदैनन् । त्यसले मलाई बुर्द्धधर्मले हानि र खराबीलाई प्रोत्साहन दिन्छ कि भनेर सोच्न बाध्य तुल्यायो ।

लामा- बुर्द्धधर्मले बाहिरी हानिको अस्तित्वलाई कहिले पनि प्रोत्साहन दिंदैन । हानि तपाईंको मनको प्रक्षेपण हो । यदि हानिकारक वस्तुको अस्तित्व छ भने त्यो तपाईंभित्र नै छ । डराउनका लागि कुनै पनि बाहिरी हानिकारक वस्तुको अस्तित्व छैन । क्रोध देवहरू बोधिज्ञानको प्रकट हो र तिनीहरूले प्रसस्त अनियन्त्रित क्रोधलाई ज्ञानमा परिणत गर्दछ । त्यसलाई पछि क्रोधदेवको रूपमा दृष्य भावना  गरिन्छ । त्यसप्रकारले उसको क्रोधको शक्तिलाई ज्ञानको शक्तिले पाचन गर्दछ । छोटकरीमा त्यस प्रणालीले त्यसप्रकारको कार्य गर्दछ ।

प्रश्न- आत्मरक्षाका लागि एउटा मानिसले अर्को मानिसको हत्या गर्दछ भने तपाईंले कस्तो महसुस गर्नुहुन्छ ?

लामा- आत्मरक्षाका लागि हत्या गरिएको प्राय सबैजसो घटनाहरूमा हत्या अनियन्त्रित क्रोधको कारण नै गरिएको हुन्छ । तपाईंले सकेसम्म अरूको हत्या नगरीकन नै आत्मरक्षा गर्नुपर्दछ । उदाहरणका लागि यदि तपाईंले मलाई आक्रमण गर्नुभयो भने तपाईंको हत्या नगरीकन आत्मरक्षा गर्नका लागि म उत्तरदायी छु

प्रश्न- मलाई मारेर मात्र मलाई रोक्न सक्ने अवस्था छ भने के तपाईंले त्यसो गर्नुहुन्छ ?

लामा- त्यसो भए तपाईंले नै मेरो हत्या गरे बेस होला ।

अब अरू प्रश्नहरू छैनन् भने म तपाईंहरूलाई अझ बढी समयसम्म यहाँ राख्दिनँ । सबै कुराहरूका लागि धेरै धेरै धन्यवाद !

                                                          क्रिर्सचर्च, न्यूजिल्यान्ड
                                जुन १४, १९७५

यो वेभ साईट मुकेश लामा लो द्वारा २५ जनवरी सन् २००२ देखि विश्व भरि छरीएर रहेका तामाङहरुका लागि परिकल्पना, विन्यास तथा प्रवर्ध्दन गरिएको स्वतन्त्र वेभ साईट हो ।
 

P.O.Box 13779, Kathmandu, Nepal
Tel/Fax : 00977-1-4450276, E-mail
:
ceo@tamangs.com